नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत आज देशभरका ५१२ पालिकामा अधिवेशन प्रक्रिया सुरू भएको छ।
कतिपय पालिकामा अधिवेशनबाट नेतृत्व चयन भएका छन्। अधिकांशमा सर्वसम्मत नेतृत्व चयन भएको छ।
५८ जिल्लाका ती पालिकामा उद्घाटन तथा बन्द सत्र सुरू भई निर्वाचनसमेत भएको कांग्रेसले जनाएको छ।
कांग्रेस केन्द्रीय निर्वाचन समितिका अनुसार बाँकी २४१ पालिकामा असोज ८ र ९ गते अधिवेशन प्रक्रिया जारी रहनेछ।
यसैबीच, जल तथा मौसम विज्ञान विभागले असोज ८ देखि १२ गतेसम्म भारी वर्षा हुने पूर्वानुमान गरेको भन्दै कांग्रेसले अधिवेशनका क्रममा सावधानी अपनाउन निर्देशन दिएको छ।
निर्वाचन अधिकृतहरूलाई आफ्नो मातहतका पालिका, प्रदेश सभा र प्रतिनिधिसभा क्षेत्रका अधिवेशन मौसमको अवस्था हेरी अनुकूल समयमा सञ्चालन गर्न निर्देशन दिइएको छ।
केन्द्रीय निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालले जारी गरेको सूचनामा अधिवेशनका क्रममा मौसमलाई ध्यान दिई आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको छ।
कांग्रेसको केन्द्रीय महाधिवेशन असोज १६ देखि १९ गतेसम्म खुलामञ्चमा हुनेछ।