नेपाली कांग्रेसको काठमाडौं महानगरपालिकाको सभापतिमा सुसन वैद्य चयन भएका छन्।
बुधबार भएको अधिवेशनबाट उनी निर्विरोध सभापति भएका हुन्। पेसाले आर्किटेक्ट इन्जिनियर रहेका सुसन यसअघि काठमाडौं महानगर कांग्रेसका सचिव थिए।
नेपाल विद्यार्थी संघको प्रतिनिधित्व गर्दै उनी २०५५ सालमा थापाथली इन्जिनियरिङ क्याम्पसको स्ववियु उपसभापतिमा निर्वाचित भएका थिए। त्यसपछि नेविसंघ काठमाडौं जिल्लामा विभिन्न समयमा सदस्य, सह–सचिव र उपाध्यक्षको जिम्मेवारी सम्हालेका थिए।
सुसन नेपाल इन्जिनियर्स एसोसिएसनको ३१ औं कार्यकारिणी समिति सदस्य तथा ३३ औं कार्यकारिणी समितिको कोषाध्यक्षसमेत निर्वाचित भएका थिए।
नेपाली कांग्रेसको १२ औं र १३ औं महाधिवेशनबाट काठमाडौं जिल्ला सदस्य निर्वाचित भएका उनी १४ औं महाधिवेशनबाट काठमाडौं महानगर कांग्रेसको सचिवमा अत्यधिक मतसहित निर्वाचित भएका थिए।
२०७९ सालमा काठमाडौं महानगरपालिकाको मेयर पदका लागि उनको नाम पार्टीमा सिफारिस भएको थियो। त्यसैगरी २०८२ सालमा नेपाली कांग्रेसबाट काठमाडौं क्षेत्र नम्बर ६ को प्रत्यक्षतर्फ प्रतिनिधिसभा उम्मेदवारका लागि पनि उनको नाम सिफारिस भएको थियो।
इन्जिनियरिङ पेसासँगै राजनीतिक सक्रियता
सुसन पछिल्लो १६ वर्षदेखि आफ्नै व्यवसाय सञ्चालन गर्दै इन्जिनियरिङ पेसामा सक्रिय छन्। उनले नेपाल इन्जिनियर्स एसोसिएसनबाट युथ प्रोफेसनल अवार्डसमेत प्राप्त गरेका छन्। इन्जिनियरहरूका लागि प्रत्यक्ष रोजगारी सिर्जना गर्न पनि उनको भूमिका रहँदै आएको छ।
उनले राष्ट्रिय योजना आयोगमा विज्ञ सल्लाहकारका रूपमा काम गरेका छन्।
२०७२ सालको भूकम्पपछि राष्ट्रिय पुनर्निर्माण प्राधिकरणमा विज्ञ सल्लाहकारका रूपमा रहेर नीति निर्माण तथा पुनर्निर्माणमा प्राविधिक दक्षता प्रस्तुत गरेका थिए। यसैगरी उनले रक्षा मन्त्रालयमा रक्षामन्त्रीका सल्लाहकारका रूपमा पनि काम गरिसकेका छन्।
सम्पदा संरक्षणका अभियानमा सक्रिय
सुसन काठमाडौंका ऐतिहासिक तथा सांस्कृतिक सम्पदा संरक्षणका विषयमा पनि सक्रिय रहँदै आएका छन्।
तत्कालीन काठमाडौं महानगरका प्रमुख विद्यासुन्दर शाक्यको कार्यकालमा रानीपोखरी पुनर्निर्माण गर्दा पुरातात्त्विक सम्पदाको मापदण्ड विपरीत निर्माण गर्न लागिएको भन्दै उनले विरोध गरेका थिए। त्यस बेला विरोधको नेतृत्व गरेपछि उनी चर्चामा आएका थिए।
तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको पालामा खुलामञ्चमा व्यावसायिक पसलका सटर निर्माण गर्न अनुमति दिइएको विषयमा पनि उनले विरोध जनाए।
उनले 'खुलामञ्च खुला गर' अभियानको नेतृत्व गरेका थिए। चौतर्फी विरोधपछि खुलामञ्चमा सटर बनाउने निर्णयबाट सरकार पछि हटेको थियो।
त्यसैगरी टुँडिखेल अतिक्रमण रोक्न सञ्चालन गरिएको 'अकुपाई टुँडिखेल' अभियानमा पनि वैद्य सहभागी भएका थिए। अभियानका क्रममा मानव साङ्लो बनाएर टुँडिखेल घेराउ गरिएको थियो।
कमलपोखरीलाई वर्तमान स्वरूपमा पुनर्निर्माण गर्ने क्रममा कंक्रिट प्रयोग गरिएको विषयमा पनि उनले विरोध गरेका थिए। उनले पटकपटक प्रदर्शनमा सहभागी भएर कंक्रिट प्रयोगको विरोध गरेका थिए।
काठमाडौंमा भएको गुठी आन्दोलनमा पनि उनले नेतृत्वदायी भूमिका निर्वाह गरेका थिए।
काठमाडौंलाई बस्नयोग्य सहर बनाउने तथा काठमाडौंका ऐतिहासिक, पुरातात्त्विक र सांस्कृतिक सम्पदाको संरक्षणका विषयमा सुसनले लामो समयदेखि आफ्नो आवाज उठाउँदै आएका छन्।