नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी पुनर्गठन जरूरी नरहेको बताएका छन्।
केन्द्रीय कमिटीको जारी बैठकमा राजनीतिक प्रतिवेदनमाथि उठेका जिज्ञासाहरूको जबाफ दिने क्रममा अध्यक्ष ओलीले महाधिवेशनबाट निर्वाचित अध्यक्षलाई कसैले हटाउन नसक्ने बताए।
'महाधिवेशनले अध्यक्ष चुनेको एक वर्ष पनि भएको छैन। अहिले पुनर्गठनको कुरा उठ्नु स्वाभाविक होइन। मविरूद्ध धेरै खालका षड्यन्त्र भइरहेका छन्,' उनले भने, 'अहिले विशेष महाधिवेशन किन जरूरी छ? राष्ट्रिय प्रतिनिधि परिषद पनि बोलाउन जरूरी छैन र त्यो बोलाउने समय पनि भएको छैन।'
उनले आफूलाई अध्यक्षबाट हटाउन षड्यन्त्र भए पनि त्यो सम्भव नहुने बताए। उमेर धेरै भएको भनी टिप्पणी गर्नेहरूलाई लक्षित गर्दै उनले आफूजस्तै खटिएर देखाउन चुनौती दिए।
'मलाई उमेर देखाउने? मेरो उमेरले के रोकेको छ? कपाल फुल्यो भन्दैमा हुन्छ? कोही म जति खटेर काम गर्न सक्नुहुन्छ?' उनले भने, 'ममाथि प्रश्न उठाउनेहरूले मसँग १५ दिन बसेर हेर्नुहोस्। मैले जति अध्ययन गर्नुहोस्, मैले जति खट्न सक्नुहोस् र ती कुराहरू सिक्नुहोस्।'
त्यस्तै, उनले सामाजिक सञ्जालमा पार्टीविरूद्ध बोल्नेहरूलाई कारबाही गर्ने चेतावनी पनि दिएका छन्।
'पार्टीको नीतिविपरीत कुनै पनि कुराहरू सामाजिक सञ्जालमा लेखेको वा बोलेको थाहा पाएमा विधानअनुसार कारबाही हुन्छ,' उनले भने, 'आजसम्म जसले जे जे लेख्यो लेख्यो। अबका मितिबाट लेख्न पाइँदैन। आजलाई कट अफ डेट मानेर कारबाही प्रक्रिया अगाडि बढाइनेछ।'