नेकपा एमालेका उपाध्यक्ष गोकर्ण विष्टले प्रतिनिधि सभा पुनर्स्थापनाका लागि आन्दोलन गर्ने विषय पार्टी अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदनमा राखिएकोप्रति असहमति जनाएका छन्।
एमाले केन्द्रीय कमिटी बैठकमा अध्यक्ष केपी शर्मा ओलीले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमाथि धारणा राख्दै विष्टले निर्वाचनमा सहभागी भएर पराजित भइसकेपछि आठ महिनापछि प्रतिनिधि सभा पुनर्स्थापनाको आन्दोलन उठाउनु राजनीतिक रूपमा उचित र सान्दर्भिक नहुने बताएका हुन्।
उनले आफूहरू निर्वाचनमा सहभागी नै नभएको भए प्रतिनिधि सभा पुनर्स्थापनाको आन्दोलनको औचित्य हुन सक्ने बताए।
तर निर्वाचनमा सहभागी भएर जनमतबाट पराजित भइसकेपछि पुनर्स्थापनाको विषय उठाउँदा त्यसले राजनीतिक नैतिकता र औचित्यमाथि प्रश्न उठाउने उनको भनाइ छ।
'त्यसकारण यो खालको लेखनलाई फिर्ता लिनुपर्छ। म यो प्रस्तावसँग असहमत छु,' उनले भने।
प्रतिनिधि सभा पुनर्स्थापनाको विषयसँगै विष्टले पार्टीभित्रको कार्यशैली र निर्णय प्रक्रियामाथि पनि प्रश्न उठाएका छन्।
अध्यक्षकै सिफारिसमा बनेको लामो समयदेखि प्रतीक्षामा रहेको कार्यदलले सर्वसम्मत रूपमा तयार पारेको प्रतिवेदन केन्द्रीय कमिटीमा छलफलका लागि नल्याइएको भन्दै उनले आपत्ति जनाएका छन्।
कार्यदलको प्रतिवेदन केन्द्रीय कमिटीमा ल्याएर छलफल र निष्कर्षमा पुग्नुपर्ने थियो। त्यसो नगर्नु केन्द्रीय कमिटीको अवमूल्यन र अपमान भएको उनको भनाइ थियो।
उनले पार्टी पटकपटक सरकारको नेतृत्वमा पुगे पनि त्यसकै आधारमा पार्टीको अवस्था ठीक रहेको निष्कर्षमा पुग्न नहुने बताए।
'पार्टीको अवस्थाको सन्दर्भमा ०७४ सालको निर्वाचनमा ३३ प्रतिशत, ०७९ मा २७ प्रतिशत र ०८२ मा १३ प्रतिशत मत एमालेले प्राप्त गर्यो। ७४ मा संसदभित्र पहिलो पार्टी, ७९ मा दोस्रो पार्टी र ८२ मा चौथो पार्टीको रुपमा हामी स्थापित भयौँ। र पनि सबै ठीकठाक छ?,' उनले भने।
पार्टी सदस्यता नवीकरण पूरा नभएको, धेरै कमिटीमा बहुमतको अवस्था नरहेको र पार्टी जनतासँग जोडिन नसकेको भन्दै उनले अहिलेको शैली, सोच र कार्यपद्धतिबाट पार्टी अघि बढ्न नसक्ने उनको भनाइ छ।
पार्टीभित्र विचार, नीति, कार्यक्रम, कार्यशैली, पदका लागि प्रतिस्पर्धा र अवसरको वितरणलगायत विषयमा अन्तरविरोध हुनु स्वाभाविक भए पनि त्यसको समाधान विधि, मापदण्ड, संवाद र तर्कका आधारमा हुनुपर्ने विष्टको भनाइ थियो। उनले पार्टीमा विधि र मापदण्ड कमजोर हुँदै गएको बताएका छन्।
‘संख्याले वैधता र शक्ति दिन सक्छ, तर संख्याले सबै समाधान र विवेक दिन सक्दैन,’ उनले भने।
विष्टले पार्टीमा सामूहिक नेतृत्व र व्यक्तिको जिम्मेवारीको अभ्यास कमजोर हुँदै गएको तथा शक्ति केन्द्रीकरणको प्रवृत्ति हाबी भएको पनि बताएका छन्।
पार्टी सामूहिक रूपमा अघि बढ्न नसके आगामी दिन अझ चुनौतीपूर्ण हुने भन्दै उनले कमजोरीहरूको खुला समीक्षा गरेर सुधार र नयाँ दिशातर्फ अघि बढ्नुपर्ने बताएका छन्।