अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सिएनएन, एमएस नाउ र पोलिटिकोका पत्रकारलाई ह्वाइट हाउस प्रवेशमा लगाएको प्रतिबन्ध असंवैधानिक हुन सक्ने भन्दै अदालतले त्यसको कार्यान्वयनमा रोक लगाएको छ।
वासिङ्टनस्थित अमेरिकी जिल्ला अदालतका न्यायाधीश टिमोथी जे केलीले बिहीबार १४ दिनका लागि लागू हुने अस्थायी रोक आदेश जारी गरेको भनेर द न्यूयोर्क टाइम्सले लेखेको छ।
केलीले तीनवटै सञ्चारमाध्यमका कर्मचारीको प्रेस कार्ड तत्काल फिर्ता गर्न र ह्वाइट हाउस प्रवेशको अधिकार पुनर्स्थापित गर्न पनि सरकारलाई निर्देशन दिएका छन्।
अदालतले ट्रम्प सरकारको उक्त कदम अमेरिकी संविधानको पहिलो संशोधन अन्तर्गत प्रेस स्वतन्त्रताको अधिकारसँग बाझिन सक्ने प्रारम्भिक निष्कर्ष निकालेको छ।
यो विवाद गत शुक्रबार सुरू भएको थियो। ट्रम्पले आफ्नो ट्रुथ सोसल पोस्टमार्फत ती तीन सञ्चारमाध्यमलाई ह्वाइट हाउसमा प्रतिबन्ध लगाइएको घोषणा गरेका थिए।
प्रतिबन्ध लगाउनुको कारणका रूपमा ट्रम्पले उनीहरूको समाचार रिपोर्टिङलाई उल्लेख गरेका थिए।
त्यसको भोलिपल्ट शनिबार तीनवटै सञ्चारमाध्यमका पत्रकारलाई ह्वाइट हाउस परिसरमा प्रवेश गर्न दिइएन।
घटनाक्रम त्यसपछि अदालतसम्म पुगेको थियो। सोमबार सिएनएन, एमएस नाउ र पोलिटिकोले ट्रम्प सरकारविरूद्ध मुद्दा दायर गर्दै आफूहरूमाथिको प्रतिबन्धले अमेरिकी संविधानको पहिलो संशोधनले सुनिश्चित गरेको प्रेस स्वतन्त्रताको अधिकार उल्लंघन गरेको दाबी गरेका थिए।
अदालतको आदेशसँगै तत्कालका लागि ती सञ्चारमाध्यमका पत्रकारलाई ह्वाइट हाउसमा पुनः प्रवेशको बाटो खुलेको छ।
आदेशले पछिल्ला केही दिनदेखि चलेको विवादलाई अस्थायी रूपमा रोक्ने काम गरेको छ।
ट्रम्प र परम्परागत सञ्चारमाध्यमबीच विवाद चर्किरहेका बेला ह्वाइट हाउसले आफ्नै २४ घन्टा प्रसारण हुने स्ट्रिमिङ च्यानल 'ट्रम्प टिभी' पनि हालै सुरू गरेको छ।
'ट्रम्प टिभी: द एसेन्सियल स्टेसन' नाम दिइएको च्यानलले ट्रम्प प्रशासनका भाषण, कार्यक्रम तथा कार्यकारी निर्णयसँग सम्बन्धित भिडिओहरू प्रत्यक्ष वा पुनः प्रसारण गर्ने भनेर अमेरिकी अनलाइन एक्सियसले लेखेको छ।
च्यानल ह्वाइट हाउसको युट्युब अकाउन्ट, ह्वाइट हाउसको वेबसाइट र आधिकारिक एपमार्फत प्रसारण भइरहेको छ।
ट्रम्प सरकारले सिएनएन, एमएस नाउ र पोलिटिकोका पत्रकारलाई ह्वाइट हाउस प्रवेशमा रोक लगाएपछि ती सञ्चारमाध्यमले विरोध गरेका थिए।
त्यसपछि राष्ट्रपति ट्रम्पका सार्वजनिक कार्यक्रमका भिडिओ उपलब्ध गराउने टेलिभिजन प्रेस पुलमा रहेका प्रमुख नेटवर्कहरूले पनि विरोध जनाएका थिए।
यसको परिणाम सोमबार देखियो। प्रेस पुलले बहिस्कार गरेर क्यामरा र अडिओ व्यवस्था उपलब्ध नगराएकाले ह्वाइट हाउसको एक कार्यक्रममा ट्रम्पले बोलेका कुरा टेलिभिजनमा स्पष्ट रूपमा सुनिएको थिएन।
अदालतको आदेशसँगै तत्कालका लागि यस्तो समस्या फेरि नदोहोरिने अपेक्षा गरिएको छ।
(विभिन्न अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूको सहयोगमा तयार पारिएको)