प्रधानमन्त्री बालेन शाहले भोटेकोशी-त्रिशूलीको विपत्ती केवल स्थानीय त्रासदी मात्रै नभएको बताएका छन्।
संयुक्त राष्ट्रसंघको महासभालाई सम्बोधन गर्दै प्रधानमन्त्री बालेनले यो विश्वका लागि चेतावनी रहेको बताएका हुन्।
'र म आज तपाईंहरूलाई सोध्छु—के हामीले वास्तवमै त्यो चेतावनी सुन्यौँ त?,' उनले भने।
उनले विकास, लोकतन्त्र,शान्ति र एउटा युवा राष्ट्रको आशाका बारेमा कुरा गर्न इच्छा भए पनि महाविपत्तिका कारण मृत्यु र विनाशका बारेमा बोल्न बाध्य भएको बताए।
'म तिनै परिवारहरूका बारेमा बोल्दै छु, जो आफ्ना प्रियजनहरूको पर्खाइमा छन्।जो अब कहिल्यै घर फर्किने छैनन्। म तिनै समुदायहरूका बारेमा बोल्दै छु, जो माटो, ढुङ्गा र पानीभित्र आफ्ना मानिसहरू खोजिरहेका छन्, जसका शवहरू कहिल्यै फेला नपर्न सक्छन्। म तिनै पुल, सडक, विद्यालय, घर र जीविकोपार्जनका साधनहरूका बारेमा बोल्दै छु, जो केही मिनेटमै बगेर गए। म यस्तो देशका बारेमा बोल्दै छु, जसको दिगो विकास लक्ष्यहरू हासिल गर्ने स्थिर प्रगतिमा अवरोध पुगेको छ,' प्रधानमन्त्री बालेनले भने।
उनले चार हप्ताअघि विश्वले देखेको स्तब्ध पार्ने विकाशकारी दृश्य नेपालको मात्रै स्थानीय त्रासदी नरहेको बताएका हुन्।
'यो विश्वका लागि एउटा चेतावनी थियो। र म आज तपाईंहरूलाई सोध्छु—के हामीले वास्तवमै त्यो चेतावनी सुन्यौँ त?,' उनले भने।
प्रधानमन्त्री बालेनले तीन वर्षअघि संयुक्त राष्ट्रसंघका महासचिवले सगरमाथाको छायामा उभिएर जलवायु विपत्तिका बारेमा चेतावनी दिएको स्मरण गराए।
'नेपालमा हामीले सुन्यौँ, हाम्रा समुदायहरूले सुने, विश्वभरका वैज्ञानिकहरूले सुने र उनीहरूले प्रमाणसहित त्यसलाई दोहोर्याए। तर हामी, राजनीतिक नेताहरूले, ती चेतावनीहरूलाई जोखिममा परेका मानिसहरूलाई आवश्यक पर्ने गति र परिमाणमा कार्यमा ढाल्न लापरवाही गर्यौँ,' उनले भने।
फलस्वरूप गत महिना त्यसको दुःखद परिणाम देखिएको उनले बताए।
ताप्तै गएको जलवायुले संवेदनशील हिमाली पर्यावरणलाई अस्थिर बनाउँदैछ; पर्माफ्रोस्ट (जमेको माटो) पग्लेर हिमनदीमुनिका पहाडी ढाडहरू फुट्दैछन् र हिउँ तथा चट्टानको पहिरोको जोखिम बढिरहेको उनले बताए।
यसबाट बाढी, पहिरो र अन्य श्रृङ्खलाबद्ध विपत्तिहरू निम्तिएको र यसबाट सिर्जित विनाशले नेपाल-चीन सीमाका दुवैतर्फ हाहाकार मच्चाएको उनले बताए।
'यसले हामीलाई एउटा मौलिक कुरा सिकाउँछ। जलवायु परिवर्तनले सीमा चिन्दैन। हिमनदी र बाढीहरू छाप वा पासपोर्ट बोकेर यात्रा गर्दैनन्,' उनले भने।
प्रधानमन्त्रीको सम्बोधनः