इरानले स्ट्रेट अफ हर्मुज सात दिनभित्र पुनः खोल्ने प्रस्ताव अमेरिकासमक्ष राखेको छ।
त्यसका लागि निश्चित सर्त पूरा हुनुपर्ने र त्यसपछि अमेरिका–इरानबीच युद्धको स्थायी समाधानका लागि व्यापक वार्ता पुनः सुरु गर्ने इरानले प्रस्ताव गरेको छ।
इरानी विदेशमन्त्री अब्बास अराघ्चीले बिहीबार न्युयोर्कमा यस्तो प्रस्ताव अमेरिका समक्ष मध्यस्थमार्फत पठाएको फाइनान्सियल टाइम्सले जनाएको छ।
संयुक्त राष्ट्रसंघको महासभाका क्रममा आयोजित पत्रकार तथा प्राज्ञहरूको भेलामा अराघ्चीले भने, ‘केही सर्त पूरा भएमा सात दिनभित्र हर्मुज खोलिने’ प्रस्ताव अमेरिकासमक्ष राखिएको छ।
उनका अनुसार प्रस्ताव स्वीकार भएको भोलिपल्टदेखि नै त्यसको समयसीमा सुरु हुनेछ र सात दिनपछि हर्मुज खोलिनेछ।
‘योजना एकदमै स्पष्ट छ,’ अराघ्चीले भने, ‘उनीहरूले यो योजना स्वीकार गरेको क्षणदेखि अर्को दिनबाट समयसीमा सुरु हुन सक्छ र सात दिनपछि हर्मुज खुला हुनेछ।’
इरानले आफ्नो नयाँ प्रस्ताव गत जुनमा अमेरिका र इरानबीच भएको समझदारीपत्र (एमओयू) मा आधारित रहेको जनाएको छ।
उक्त समझदारीले अप्रिलमा भएको युद्धविरामलाई थप ६० दिन लम्ब्याउने, इरानी तेल निर्यात र ढुवानीका लागि अमेरिकी प्रतिबन्धमा छुट दिने तथा हर्मुजबाट हुने समुद्री आवागमनलाई युद्धअघिको अवस्थामा क्रमशः फर्काउने व्यवस्था गरेको थियो।
त्यस अवधिमा दुवै पक्षले दीर्घकालीन समाधानका लागि वार्ता गर्ने सहमति गरेका थिए। समझदारीअनुसार इसराइलले लेबननमा तत्काल सैन्य कारबाही रोक्नुपर्ने तथा हर्मुजमा समुद्री आवागमनको भविष्यको व्यवस्थापन इरान र छिमेकी ओमानले तय गर्ने भनिएको थियो।
तर जुलाईको सुरुवातमै उक्त समझदारी भंग भएको थियो। त्यसपछि इरानले आफूले ‘अनधिकृत’ मार्ग प्रयोग गरेको बताएको केही पानीजहाजमाथि कारबाही गरेको थियो।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भने यसअघि भएको समझदारीमा फर्किन अस्वीकार गर्दै आएका छन्। अमेरिकी पक्षले हर्मुजसँगै इरानको आणविक कार्यक्रमसमेत समेटिएको थप व्यापक सम्झौताको पक्षमा रहेको वार्तासँग परिचित व्यक्तिहरूलाई उद्धृत गर्दै फाइनान्सियल टाइम्सले जनाएको छ।
‘सम्झौता गर्न हतार छैन’
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मंगलबार संयुक्त राष्ट्रसंघको महासभामा सम्बोधन गर्दै इरानले आगामी नोभेम्बरमा हुने मध्यावधि निर्वाचनसम्म सम्झौता नगर्ने प्रयास गरिरहेको आरोप लगाएका थिए।
ट्रम्पले रिपब्लिकन पार्टीले संसदीय निर्वाचन हार्ने आशा इरानले राखेको दाबी गरेका थिए।
इरानले अमेरिकी सर्त स्वीकार नगरे आफूले इरानलाई ध्वस्त पार्ने चेतावनी समेत ट्रम्पले दिएका थिए। यद्यपि उनले इरानसँगको वार्तामा अमेरिकी मध्यावधि निर्वाचनको कुनै भूमिका नरहेको बताएका थिए।
त्यसपछि संयुक्त राष्ट्रसंघको महासभाकै क्रममा कतारका मध्यस्थतामा अमेरिकी र इरानी प्रतिनिधिबीच वार्ता भएको थियो।
दुवै पक्षले उक्त वार्तालाई सकारात्मक र रचनात्मक भनेका छन्। तर इरानी पक्षले अमेरिकाले कुनै सम्झौता कार्यान्वयन गर्ने विषयमा आफूहरू विश्वस्त नरहेको निजी रूपमा बताएको स्रोतलाई उद्धृत गर्दै समाचारमा जनाइएको छ।
अराघ्चीले भने इरान सम्झौता गर्न ‘हतारमा नरहेको’ बताएका छन्।
'मध्यावधि निर्वाचनअघि नै यो सम्पन्न भए राम्रो हुन्छ भन्ने लाग्छ। तर यो अमेरिकी सरकारमा निर्भर गर्छ। हामीलाई समयको कुनै हतार छैन,’ उनले भने।
(विभिन्न अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूको सहयोगमा तयार पारिएको)