इरानले अमेरिका र इसराइलसँग जारी द्वन्द्वको समाधान कूटनीतिक माध्यमबाट मात्रै सम्भव हुने बताएको छ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले अघि सारेको युद्धविराम तथा स्ट्रेट अप हर्मुज पुनः खोल्ने प्रस्ताव अस्वीकार गरेको बताएपछि इरानले यस्तो प्रतिक्रिया दिएको हो।
इरानी विदेशमन्त्री अब्बास अराघ्चीले सामाजिक सञ्जालमार्फत इरानका सर्तहरू स्पष्ट रहेको भन्दै ती पूरा भएपछि मात्रै हर्मुज खोल्ने प्रक्रिया अघि बढ्ने बताएका छन्।
‘यो गतिरोधबाट बाहिर निस्कने बाटो वार्ताबाट भएको समाधान मात्रै हो,’ उनले भनेका छन्।
इरानले गत साता न्यूयोर्कमा भएको संयुक्त राष्ट्रसंघको महासभाका क्रममा शान्ति प्रस्ताव अघि सारेको थियो। कतारका मध्यस्थतामा उक्त प्रस्ताव अमेरिकी पक्ष समक्ष पठाइएको इरानको भनाइ छ।
तर ट्रम्पले शनिबार ह्वाइट हाउसमा पत्रकारहरूसँग कुरा गर्दै इरानको प्रस्ताव अस्वीकार गरेको बताएका थिए। इरानले हर्मुज तत्काल खोल्न खोज्नुको कारण युद्धमा आफू कमजोर बन्दै जानु रहेको उनको दाबी थियो।
तर अराघ्चीका अनुसार मध्यस्थकर्ताले अहिलेसम्म अमेरिकी अस्वीकृतिबारे इरानलाई औपचारिक जानकारी दिएका छैनन्। ‘मध्यस्थहरूले अमेरिकी पक्षको अन्तिम धारणा हामीलाई दिने प्रतीक्षामा छौं। त्यसपछि त्यसैअनुसार निर्णय गर्नेछौं,’ उनले भने।
अमेरिकाले इरानमाथि आर्थिक नाकाबन्दी कडा बनाउँदै आएको छ। हर्मुजमा पानीजहाजमाथि भएका आक्रमणका कारण यस क्षेत्र हुँदै हुने समुद्री ढुवानीमा ठूलो गिरावट आएको छ। विश्वको महत्वपूर्ण तेल आपूर्ति मार्गमध्ये एक मानिने यो जलमार्गमा भएको अवरोधले विश्व अर्थतन्त्र र तेल बजारमा समेत असर पारेको छ।
इरानले प्रस्ताव कार्यान्वयनका लागि सात दिनभित्र हर्मुज खोल्ने र क्षेत्रीय युद्धमा अस्थायी रोक लगाउने व्यवस्था अघि सारेको थियो। त्यसपछि अमेरिका र इरानबीच अन्य विषयमा विस्तृत वार्ता अघि बढाउन सकिने उसको भनाइ छ।
वार्ताका सम्भावित विषयमा इरानको आणविक कार्यक्रम पनि पर्न सक्छ। अमेरिकी पक्षले इरानलाई आणविक हतियार विकास गर्न नदिने बताउँदै आएको छ। तर इरानी अधिकारीहरूले युरेनियम प्रशोधन लगायत आफ्नो आणविक अधिकारमा कुनै सम्झौता नगर्ने बताएका छन्।
इरानी राष्ट्रपति मसुद पेजेस्कियानले पनि आणविक कार्यक्रम लगायत विषयमा वार्ता गर्न तयार रहेको, तर दबाब वा धम्की स्वीकार नगर्ने बताएका छन्। उनका अनुसार इरान युद्ध चाहँदैन, तर दबाब, धम्की र आक्रमणबाट आफ्नो रक्षा गर्नेछ।
फेब्रुअरी २८ मा अमेरिका र इसराइलले इरानमाथि आक्रमण गरेपछि सुरु भएको द्वन्द्व पटक–पटकको युद्धविराम र पुनः हवाई तथा क्षेप्यास्त्र आक्रमणका बीच जारी छ। यस क्रममा हजारौं मानिस मारिएको र इरानको सैन्य क्षमता तथा कमजोर अर्थतन्त्रमा थप असर परेको बताइएको छ।
इरान र उसका सहयोगीहरूले पनि क्षेत्रीय रूपमा जवाफी आक्रमण विस्तार गरेका छन्। इरानले खाडी क्षेत्रमा रहेका अमेरिकी सहयोगीमाथि ड्रोन र क्षेप्यास्त्र आक्रमण गरेको छ भने इरान-संचालित यमनका हुथी समूहले साउदी अरबलाई लक्षित गर्दै आक्रमण गरेका छन्।
(विभिन्न अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूको सहयोगमा तयार पारिएको)