अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग शनिबार एयर फोर्स वनमा यात्रा गर्न ह्वाइट हाउसले समाचार संस्था सिएनएनलाई रोक लगाएको छ।
सिएनएनका प्रवक्ताले राष्ट्रपति ट्रम्पसँगै टेनेसी राज्यको नक्सभिल जानका लागि तय भएको यात्रामा आफ्नो संस्थालाई सहभागी हुन नदिइएको पुष्टि गरेका छन्।
ट्रम्प नक्सभिलमा कलेज फुटबल खेल हेर्न जाने कार्यक्रम थियो। राष्ट्रपतिको सीमित स्थान भएका कार्यक्रमको समाचार संकलनका लागि विभिन्न टेलिभिजन नेटवर्कबीच आलोपालो हुने ‘टेलिभिजन प्रेस पूल’ अन्तर्गत यसपटक सिएनएनको पालो थियो।
यस्तो प्रेस पूलमा सहभागी नेटवर्कले राष्ट्रपतिको कार्यक्रमको समाचार, तस्बिर र भिडियो तयार पार्छन्। अनि ती सामग्री अन्य टेलिभिजन नेटवर्कलाई पनि उपलब्ध गराउँछन्।
तर शनिबारको यात्राका लागि ह्वाइट हाउसले जारी गरेको निर्देशनमा सिएनएनलाई समावेश गरिएन। त्यसका कारण सिएनएनले राष्ट्रपतिको विमानभित्रबाट आफ्नो पालोअनुसार समाचार संकलन गर्न पाएन।
राष्ट्रपतिको यात्रामा टेलिभिजन प्रेस पूलमा कसलाई सहभागी गराउने भन्ने निर्णय सामान्यतः पाँच प्रमुख टेलिभिजन नेटवर्कले आलोपालो प्रणाली अनुसार गर्दै आएका थिए। ह्वाइट हाउसले त्यसमा हस्तक्षेप गर्ने घटना विरलै हुने गरेको बताइएको छ।
शनिबार जारी गरिएको प्रेस पूलको रिपोर्टमा यसपटक टेनेसी यात्राका लागि कुनै टेलिभिजन पूल नहुने उल्लेख थियो।
यसको अर्थ राष्ट्रपतिको भ्रमणका गतिविधिको स्वतन्त्र भिडियो व्यापक रूपमा उपलब्ध नहुने अवस्था सिर्जना भएको रिपोर्टमा जनाइएको थियो।
ट्रम्प सरकार र सिएनएन सहितका समाचार संस्थाबीच ह्वाइट हाउसमा समाचार संकलनको पहुँचलाई लिएर चलिरहेको विवादकै पछिल्लो घटनाका रूपमा यसलाई हेरिएको छ।
ट्रम्पले सेप्टेम्बर १८ मा सिएनएन, पोलिटिको र एमएस नाउलाई ह्वाइट हाउसमा प्रतिबन्ध लगाउने घोषणा गरेका थिए। ती संस्थाले बारम्बार ‘फेक न्युज’ प्रकाशित गरेको आरोप ट्रम्पले लगाएका थिए।
त्यसको भोलिपल्ट शनिबार तीनवटै सञ्चारमाध्यमका पत्रकारलाई ह्वाइट हाउस परिसरमा प्रवेश गर्न दिइएन। सो विवाद त्यसपछि अदालतसम्म पुगेको थियो। सोमबार सिएनएन, एमएस नाउ र पोलिटिकोले ट्रम्प सरकार विरूद्ध मुद्दा दायर गर्दै आफूहरूमाथिको प्रतिबन्धले अमेरिकी संविधानको पहिलो संशोधनले सुनिश्चित गरेको प्रेस स्वतन्त्रताको अधिकार उल्लंघन गरेको दाबी गरेका थिए।
अदालतले बिहीबार त्यसमा सुनुवाइ गरेर सो प्रतिबन्ध असंवैधानिक हुन सक्ने भन्दै कार्यान्वयनमा रोक लगाएको थियो। वासिङ्टनस्थित अमेरिकी जिल्ला अदालतका न्यायाधीश टिमोथी जे केलीले बिहीबार १४ दिनका लागि लागू हुने अस्थायी रोक आदेश जारी गरेका थिए। केलीले तीनवटै सञ्चारमाध्यमका कर्मचारीको प्रेस कार्ड तत्काल फिर्ता गर्न र ह्वाइट हाउस प्रवेशको अधिकार पुनर्स्थापित गर्न पनि सरकारलाई निर्देशन दिएका थिए।
अदालतले ट्रम्प सरकारको उक्त कदम अमेरिकी संविधानको पहिलो संशोधन अन्तर्गत प्रेस स्वतन्त्रताको अधिकारसँग बाझिन सक्ने प्रारम्भिक निष्कर्ष निकालेको थियो।
सो आदेश पछि ती संस्थालाई ह्वाइट हाउस प्रवेश गर्न दिइएको थियो।
तर विवादलाई अघि बढाउँदै ट्रम्पले एयर फोर्स वनमा यात्रा गर्न सिएनएनलाई रोक लगाएका हुन्।
(विभिन्न अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूको सहयोगमा तयार पारिएको)