विशेष अदालतले पूर्वप्रधानमन्त्री माधवकुमार नेपाललाई कानुन व्यवसायीमार्फत तारिख लिन अनुमति दिएको छ।
दक्षिण कोरियाको सियोलमा नोभेम्बर ४ देखि ७ (कात्तिक १९ देखि २२ गते) सम्म आयोजना हुने एसियाली राजनीतिक दलहरूको अन्तर्राष्ट्रिय सम्मेलन (आइक्याप) मा सहभागी हुनुपर्ने भएकाले नेपालले कानुन व्यवसायीमार्फत तारिख लिन पाउनुपर्ने माग गर्दै विशेष अदालतमा निवेदन दिएका थिए।
नेपाली कम्युनिस्ट पार्टीको प्रतिनिधिमण्डलको नेतृत्व गर्दै सम्मेलनमा सहभागी हुन जानुपर्ने र अदालतले तोकेको तारिख तथा सम्मेलनको मिति एकै समयमा परेकाले व्यक्तिगत रूपमा उपस्थित हुन नसक्ने उनले निवेदनमा उल्लेख गरेका थिए।
उक्त निवेदनमाथि सुनुवाइ गर्दै विशेष अदालतका अध्यक्ष बासुदेव आचार्य तथा सदस्यद्वय डिल्लीरत्न श्रेष्ठ र उमेश कोइरालाको इजलासले उनलाई कानुन व्यवसायीमार्फत तारिख लिन अनुमति दिएको हो।
माधव नेपालविरूद्ध विशेष अदालतमा हानिनोक्सानीसम्बन्धी मुद्दा विचाराधीन छ।
उक्त मुद्दामा उनी धरौटीमा रिहा भई तारिखमा रहँदै आएका छन्।
अदालतले मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ९५ (२) बमोजिम यस्तो अनुमति दिएको हो।
अख्तियार दुरूपयोग अनुसन्धान आयोगले पचञ्जलीको जग्गा प्रकरणमा माधव नेपालसहित ९३ जनाविरूद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो।