नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले बुधबार पार्टी केन्द्रीय कार्यालयमा पत्रकार सम्मेलनमा पुगेका पत्रकारहरूलाई सोधे- तपाईंहरू सुरक्षित हुनुहुन्छ?
उनले पत्रकारहरू पक्राउ परेको घटना र सञ्चार माध्यमका कार्यालयअघि केही समयअघि गाडी पार्किङ गरिएकाजस्ता घटनातर्फ लक्ष्य गर्दै पत्रकारहरूलाई उक्त प्रश्न गरेका थिए।
‘पत्रकार साथीहरूको हातमा कालोपट्टी होला भन्ने मलाई लागेको थियो, सिंहदरबार र बालुवाटारमा जाँदा मात्र होइन, प्रतिपक्षकोमा आउँदा पनि पत्रकार साथीहरूको हातमा कालोपट्टी होला भन्ने मलाई लागेको थियो,’ उनले भने, ‘तपाईंहरू सबै सुरक्षित हुनुहुन्छ?’
शर्माले सञ्चारमाध्यममाथि भइरहेको हस्तक्षेप र पत्रकारमाथिको धरपकडप्रति चिन्ता व्यक्त गर्दै प्रेस स्वतन्त्रताको पक्षमा सञ्चारकर्मीहरू आफैले पनि आवाज उठाउनुपर्ने बताए।
सञ्चारमाध्यममाथि हस्तक्षेप हुँदा सञ्चार जगत एकजुट भएर प्रतिवाद गर्न नसकेको उनको संकेत थियो।
उनले पत्रकार पक्राउ परिसकेपछि मात्रै प्रेस स्वतन्त्रतामाथि प्रश्न उठाउने हो भन्दै सञ्चारकर्मीहरूलाई प्रतिप्रश्न पनि गरेका थिए।
सञ्चारमाध्यममाथि डर र त्रास सिर्जना हुँदा त्यसको प्रभाव समग्र लोकतन्त्रमै पर्ने उनको भनाइ छ। शर्माले सञ्चारमाध्यममाथि हस्तक्षेप हुँदा मिडियाले नै आफ्नो पक्षमा निर्भीकतापूर्वक आवाज उठाउनुपर्ने बताए।