पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले नवोदित सत्ताधारी दलभित्र असमझदारी बढ्दै गएको विषय लोकतन्त्रका लागि शुभ संकेत नभएको बताएका छन्।
सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै पूर्वप्रधानमन्त्री भट्टराईले सत्ताधारी दलमा सरकार र पार्टीबीच असमझदारी बढेको कुरा सार्वजनिक रूपमा पोखिन थाल्नु मुलुक र लोकतन्त्रका लागि शुभ संकेत नभएको बताएका हुन्।
उनले इतिहासमा यस्तै घटनाहरू हुँदा देश, लोकतन्त्र र जनतालाई नोक्सानी भएको स्मरण गराए।
‘२००७ सालपछि कांग्रेसमा बिपी र मातृका समूह, पुनः कांग्रेसमा २०४७ पछि ७४ र ३६ (सांसद) समूह र २०५८ पछि गिरीजा र देउवा समूह, २०५२ पछि एमालेमा महाकाली सन्धी पक्षधर र विरोधी समूह, २०६४ पछि माओवादीमा संविधान बनाउने र जनविद्रोह गर्ने समूह वीचको अन्तर्संघर्ष र फुटले देश, लोकतन्त्र र जनतालाई कति नोक्सान भयो इतिहास साक्षी छ,’ उनले लेखेका छन्।
भट्टराईले इतिहासबाट पाठ सिक्न सत्तारूढ दल र सरकारलाई आग्रह गरेका छन्।
‘भनाइ पनि छ- इतिहास दोहोरिन्छ किनकि मान्छेले आफ्ना गल्ती दोहोर्याउँछन्। जेन-जी विद्रोहको जगमा बनेको युवा बाहुल्य पार्टी र सरकारले इतिहासका गल्ती नदोहोर्याओस्। बरू इतिहासबाट पाठ सिकेर नयाँ इतिहास निर्माण गरोस्,’ भट्टराईले लेखेका छन्।