राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टी र सरकारबीच कुनै पनि किसिमको समन्वय अभाव नरहेको बताएका छन्।
पत्रकारहरूसँग चितवनमा कुराकानी गर्दै सभापति लामिछानेले पार्टीले सरकारलाई स्वतन्त्र रूपमा काम गर्न दिने नीति लिएको उल्लेख गरेका हुन्।
पार्टी र सरकारका कामकारबाहीमा आवश्यकताअनुसार छलफल, सुझाव र स्पष्टता खोज्ने अभ्यासलाई असमझदारीका रूपमा बुझ्न नहुने उनले बताए।
‘समन्वयको कुनै पनि कमी छैन। खाली एउटै चिज के भने, सरकारलाई मजाले काम गर्न दिनुपर्छ भन्ने पार्टीको धारणा हो,’ उनले भने।
सभापति लामिछानेले विगतमा सरकार टिकाउन र पार्टीभित्र एकता कायम राख्न प्रधानमन्त्रीसँगै अर्को व्यक्तिलाई राखेर काम गर्ने अभ्यास आफ्नो पार्टीले नगरेको बताए।
पार्टी र सरकारले आ–आफ्नो जिम्मेवारीअनुसार काम गर्ने उनले बताए।
‘हामी राजनीतिमा त्यो अभ्यासको पक्षमा छैनौँ, जतिखेर सरकारै टिकाइराख्नका लागि, पार्टीमा एकता नै कायम गर्नका लागि, छेउमा प्रधानमन्त्रीले अर्को मान्छेलाई कुर्सी राख्ने, त्यस्तो किसिमको अभ्यासमा हामी छैनौँ’, उनले भने।
सरकारका निर्णयमा प्रश्न उठेमा पार्टीले स्पष्टता माग्नु स्वाभाविक भएको उल्लेख गर्दै उनले पार्टीले सरकारका सबै निर्णयमा होमा हो मिलाउनुपर्ने अवस्था नरहेको बताए।
सरकारले गरेका निर्णयको औचित्य पुष्टि गर्ने जिम्मेवारी सरकारकै हुने उनको भनाइ थियो।
प्रहरी महानिरीक्षक (आइजिपी) को जिम्मेवारी हेरफेरलगायत विषयमा पार्टीले सरकारसँग स्पष्टता मागेको प्रसङ्गमा सभापति लामिछानेले सुरक्षा निकायसँग सम्बन्धित निर्णय संवेदनशील हुने भएकाले सरकारले समय आएपछि त्यसको औचित्य पुष्टि गर्ने बताए।
‘पार्टीले कुनै पनि सरकारले काम गर्नका लागि आवश्यकपर्ने कदम चाल्दा त्यसको औचित्य पुष्टि गर्ने जिम्मेवारी सरकारको रहन्छ’, उनले भने।
सरकारका कामकारबाहीमा सुधारको आवश्यकता देखिए पार्टीले खबरदारी गर्ने उल्लेख गर्दै सभापति लामिछानेले त्यसलाई सरकार र पार्टी बीचको विवादका रूपमा व्याख्या नगर्न आग्रह गरेका थिए।
लोकतन्त्रका मूल्य र मान्यताप्रति पार्टी स्पष्ट रहेको बताउँदै उनले आवश्यक पर्दा सरकारलाई सही बाटोमा ल्याउन पार्टीले भूमिका खेल्ने बताए।
राज्यका निकायलाई संविधान र कानुनले दिएको अधिकार सही ढङ्गले प्रयोग गर्न दिनुपर्ने बताउँदै सभापति लामिछानेले अनुसन्धानका विषयमा संस्थागत प्रक्रियामाथि विश्वास गर्नुपर्ने धारणा राखे।
प्रहरी प्रशासन, अदालत, प्रेस काउन्सिल तथा मानवअधिकार आयोगजस्ता संस्थालाई बलियो बनाउनुपर्ने उल्लेख गर्दै उनले कुनै निकायबाट गलत काम भए त्यसलाई सच्याउने संस्थागत व्यवस्था रहेको बताए।
सरकार र पार्टीबीचको सम्बन्धबारे सञ्चारकर्मीले राखेको जिज्ञासामा सभापति लामिछानेले पार्टीले सरकारलाई काम गर्न दिने र आवश्यकताअनुसार सुझाव तथा खबरदारी गर्ने अभ्यासलाई सकारात्मक रूपमा लिन आग्रह गरेका थिए।