अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि फेरि ठूलो सैन्य आक्रमण गर्ने कि नगर्ने भन्ने निर्णय चाँडै लिने बताएका छन्।
बिहीबार ह्वाइट हाउसमा राष्ट्रिय सुरक्षा सल्लाहकारहरूसँगको बैठकपछि पत्रकारहरूसँग कुरा गर्दै उनले इरानको आणविक कार्यक्रम पूर्ण रूपमा समाप्त भएको सुनिश्चित गर्न थप आक्रमण गर्नुपर्ने हुन सक्ने बताएका हुन्।
मध्यावधि निर्वाचनपछि इरानबारे पहिलोपटक उच्च सुरक्षा अधिकारीहरूसँग छलफल गरेका ट्रम्पले अब आफूले यसबारेमा निर्णय लिने बताए।
‘अब हामी निर्णय गर्नेछौँ,’ उनले भने, ‘इरानको आणविक कार्यक्रम पूर्ण रूपमा समाप्त भएको र फेरि कहिल्यै त्यस्तो कार्यक्रम नहुने सुनिश्चित गर्न थप आक्रमण गर्ने कि नगर्ने भन्ने निर्णय हुनेछ।’
सम्भव भएसम्म इरानको बाँकी पूर्वाधार नष्ट गर्न चाहना नभएको उनले बताए। ‘म सम्भव भए बाँकी देशलाई नष्ट गर्न चाहन्नँ, तर सायद त्यसो गर्नुपर्ने पनि हुन सक्छ। चाँडै थाहा पाउनुहुनेछ,’ उनले भने।
इरानमा पुनः आक्रमणको निर्णय गर्न ट्रम्प अहिले तुलनात्मक रूपमा सहज राजनीतिक अवस्थामा छन्।
नोभेम्बर ३ को मध्यावधि निर्वाचनमा रिपब्लिकन पार्टीले कंग्रेसका दुवै सदनमा बहुमत गुमाए पनि नयाँ निर्वाचित सांसदहरूले जनवरी ३ देखि मात्रै कार्यभार सम्हाल्नेछन्।
त्यतिन्जेल सिनेट र प्रतिनिधिसभा दुवैमा रिपब्लिकनकै बहुमत कायम रहनेछ।
अर्थात्, निर्वाचनमा पराजित भए पनि तत्कालका लागि कंग्रेसमा ट्रम्पकै पार्टीको बहुमत छ।
त्यसैले इरानमाथि सैन्य कारबाही गर्ने निर्णयमा उनलाई कंग्रेसबाट आउने संसदीय दबाब तुलनात्मक रूपमा कम हुन सक्छ।
जनवरीमा नयाँ कंग्रेस सुरु भएपछि भने डेमोक्रेटिक पार्टीले दुवै सदनको नेतृत्व सम्हाल्नेछ र ट्रम्प प्रशासनमाथि निगरानी तथा अनुसन्धान अघि बढाउन सक्नेछ।
काउन्सिल अन फरेन रिलेसन्सका अनुसार नयाँ कंग्रेस बसेपछि विदेश नीति र रक्षा खर्च हेर्ने समितिहरूको नेतृत्व डेमोक्रेटहरूले सम्हाल्नेछन्।
उनीहरूले इरान युद्ध, सैन्य कारबाहीको खर्च र प्रशासनका निर्णयबारे सुनुवाइ गर्न सक्छन्। यसले ट्रम्पमाथि राजनीतिक दबाब बढाउने सम्भावना छ।
त्यसैले जनवरीअघि नै इरानबारे निर्णय लिनुपर्ने राजनीतिक परिस्थिति ट्रम्पसामु छ।
अमेरिकी अनलाइन एक्सियसका अनुसार ट्रम्पले अहिले तीन विकल्पमाथि विचार गरिरहेका छन्।
पहिलो, इरानमाथि फेरि ठूलो सैन्य आक्रमण गर्ने।
दोस्रो, नौसैनिक नाकाबन्दी र आर्थिक प्रतिबन्धमार्फत दबाब जारी राख्ने।
र तेस्रो, इरान उल्लेख्य लचक भए सम्झौता गर्ने।
यता अमेरिकी सेनाको केन्द्रीय कमान्डले सम्भावित ठूलो सैन्य कारबाहीका लागि तयारी अवस्थामा छ।
तर ह्वाइट हाउसबाट अहिलेसम्म आक्रमणको नयाँ निर्देशन जारी भएको छैन।
सम्भावित आक्रमणको अर्को संकेतका रूपमा अमेरिकाले तेस्रो विमानवाहक युद्धपोत समूह मध्यपूर्व पठाउन सक्ने विषयलाई हेरिएको छ।
यूएसएस थियोडोर रुजवेल्टको विमानवाहक समूह शुक्रबारदेखि केही दिन सिंगापुरमा रहने र नोभेम्बरको मध्यतिर मात्रै मध्यपूर्व पुग्ने अपेक्षा छ।
इरानका सात सर्त
इरानले अमेरिकासँग वार्ता अघि बढाउन सात सर्त राखेको छ।
इरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्का सचिव मोहसेन रेजाईले ती सर्त पूरा नभएसम्म होर्मुज जलडमरूमध्य नखोल्ने र वार्तामा नबस्ने बताएका छन्।
अनादोलु समाचार संस्थाका अनुसार इरानका सात सर्तहरूमा मध्यपूर्वका सबै मोर्चामा युद्ध अन्त्य गर्नुपर्ने, विदेशमा रोक्का राखिएको इरानको सम्पत्ति फुकुवा गर्नुपर्ने, इरानी तेलमाथिका आर्थिक प्रतिबन्ध हटाउनुपर्ने, इरानी बन्दरगाहमाथिको अमेरिकी नौसैनिक नाकाबन्दी अन्त्य गर्नुपर्ने, युद्धबाट भएको क्षतिको क्षतिपूर्ति दिनुपर्ने, मध्यपूर्व क्षेत्रबाट अमेरिकी सेना फिर्ता गर्नुपर्ने, इरानलाई दिइँदै आएको धम्की र आन्तरिक मामिलामा हस्तक्षेप अन्त्य गर्नुपर्ने लगायतका माग छन्।
रेजाईले नोभेम्बर ३ मा अमेरिकाले दिएको जवाफ इरानका माग पूरा गर्न पर्याप्त नभएको बताएका थिए। उनले अमेरिकाले सातवटै सर्तमा स्पष्ट जवाफ दिएर कार्यान्वयन नगरेसम्म होर्मुज जलडमरूमध्य नखोल्ने र वार्ता पनि नगर्ने बताएका छन्।
कतारको प्रयास
यसैबीच अमेरिका र इरानबीच वार्ताका लागि कतारको मध्यस्थता जारी छन्।
एक्सियसका अनुसार कतारका मध्यस्थकर्ताले दुई दिनमा कार्यान्वयन गर्न सकिने विश्वास निर्माणसम्बन्धी प्रस्ताव तयार पारिरहेका छन्।
प्रस्तावअनुसार पहिलो दिन अमेरिकाले इरानमाथिको नौसैनिक नाकाबन्दी हटाउने र रोक्का राखिएको केही रकम फुकुवा गर्नेछ।
इरानले पनि बमबारी गरिएका आणविक केन्द्रमा अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सीका निरीक्षकलाई प्रवेश दिनेछ।
दोस्रो दिन इरानले हर्मुज जलमार्ग खोल्ने र त्यसपछि इरानको आणविक कार्यक्रम तथा उच्च संवर्धित युरेनियमको भण्डारबारे वार्ता अघि बढाउने प्रस्ताव छ।
यसैबीच रेजाईले बिहीबार रुसका राष्ट्रपति भ्लादिमिर पुटिनसँग मस्कोस्थित क्रेमलिनमा भेट गरेका थिए।
उनले इरानका सर्वोच्च नेता मोज्तबा खामेनीको सन्देश पुटिनलाई बुझाएका थिए। पुटिनले युद्ध अन्त्यका लागि सहयोग गर्न रुस तयार रहेको बताएका छन्।