सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले अत्यधिक मत दिएर पठाएका जनतालाई असहज लाग्ने गतिविधिहरू अस्वीकार्य हुने बताएका छन्।*
चितवनमा शुक्रबार आयोजित कार्यक्रममा बोल्दै उनले भने- जनताले हामीलाई हेरिरहेका छन्। जनतालाई असहज लाग्ने गतिविधिहरू स्वीकार्य हुँदैनन्। किनभने जनताले हामीलाई अत्यधिक मत दिएर पठाएको ठालू हुनका लागि होइन। सेवा गर्न हो।
जनताले मुलुकलाई जिम्मा लगाएका बेला उनीहरूले अपेक्षा राखेको राजनीतिक चरित्रमा खरो उत्रिनुपर्ने सभापति लामिछानेको भनाइ छ। तर त्यसमा आफूहरू खरो उत्रिइएको छ त भनेर उनले प्रश्न गरेका छन्।*
'के हामी खरो उत्रिएका छौं?'
उनले जनताले अभिमत दिएर पठाएपछि टुप्पिएको टिप्पणी गरे।
'जनताले १८२ सिट दिए, हाम्रो भइँमा खुट्टा छैन। मात्तिएका छौं। टुप्पिएका छौं हामी, हो कि होइन? यसरी हुँदैन,' उनले भने।
उनले अघि भने, 'माथिदेखि तलसम्म हामी यति मात्तिएका छौं, हामी यति चढेका छौं, हामीले मान्छेलाई मान्छे गनेका छैनौं। हो हिजो कोही नहुँदा एक्लै घन्टी बोकेर हिँड्दा हामीमाथि कति अपमान भएको थियो। अब त्यसैको बदला लिन म त घन्टीको मान्छे हुँ, म रास्वपाको मान्छे हुँ भन्दै प्रहरी/प्रशासनलाई दबाब दिने काम गर्यौं भने त्यो राजनीतिक चरित्रले हामीलाई धेरै पर लैजाँदैन। त्यसैले हामीले भुइँ टेक्नुपर्छ, हामीले भुइँ छोड्नुहुँदैन।'
जनताले दिएको यो अभिमत जनताको हुर्मत लिनका लागि दुरूपयोग नगर्न पनि उनले सम्झाएका छन्।
'जनताले दिएको यो अभिमत जनताको हुर्मत लिनका लागि दुरूपयोग नगर्नुहोला। पार्टीले नियालिरहेको छ। जब तपाईंलाई सर्वाधिक शक्ति मिल्छ, जब तपाईँलाई सर्वाधिक जनमत दिएको हुन्छ, हो त्यति बेला नै तपाईंले सर्वाधिक जिम्मेवार भएको महसुस हुने गरी आफ्ना अभिव्यक्ति, आफ्ना क्रियाकलाप गर्न जरूरी हुन्छ। इतिहासले त्यो माग्छ, त्यो होइन। आज हामी ठूला पार्टी भयौं, हाम्रा आफ्नै पुलिस छन्, आफ्नै सिडिओ छन्, आफ्नै सबै कुरा छन् भन्ने दम्भ त्याग्नुपर्छ।'
आफ्नो पार्टीको सफलतालाई कतिपयले लहर, हुरी वा संयोगका रूपमा व्याख्या गरे पनि उनीहरूलाई दोष नदिन बरू आफै सच्चिन सभापति लामिछानेको आग्रह छ।
'अरूलाई दोष नदिनुहोला। हाम्रो व्यवहार, हाम्रा गतिविधिलाई समाजले, सञ्चारमाध्यमले विश्लेषण गर्छ। विश्लेषण गर्ने समाजमाथि जाइ लाग्नु राम्रो होइन साथी हो। समाजले हामीलाई ऐना देखाइदिन्छ। ऐनाले हाम्रो अनुहार देखाएको छ। आफ्नो अनुहार देखाएपछि ऐना देखाउनेतिर झम्टिने राजनीतक चरित्र होइन। त्यसबाट माथि उठ्नुपर्ने छ,' उनले भने।
'हामीले एउटा चुनाव जितेका हौं, कुनै ग्रहबाट खसेर आएका होइनौं। हामी यहीँ जमिनका मान्छे हौं। जमिन भुल्नुहुँदैन,' सभापति लामिछानेले भने।
* सच्याइएको- सम्पादक