मिथिला क्षेत्रमा दीपावली पर्व केराखेती गर्ने किसानका लागि अतिरिक्त आम्दानीको अवसर बनेको छ।
लक्ष्मीपूजाका दिन घरघरमा केराका थामबाट स्वागतद्वार बनाउने परम्पराका कारण यस क्षेत्रमा केराका थामको माग बढेको हो। पर्वका बेला केराका थाम बिक्री गरेर किसानले राम्रो आम्दानी गर्दै आएका छन्।
स्थानीय किसानले केराका थाम ट्याक्टर तथा बयलगाडामा राखेर जनकपुरधामलगायत बजारमा बिक्रीका लागि पुर्याएका थिए।
धनुषा र महोत्तरीका गाउँबस्तीमा केराका थाम किन्न व्यापारी किसानका घरघर र केराघारी पुग्ने गरेका थिए।
धनुषाको क्षीरेश्वरनाथ नगरपालिका–३ पकडियाका किसान सुशील सिंहले केराका बोट जनकपुरधाम बजारमा बिक्री गरेको बताए।
उनका अनुसार प्रतिथाम २५० देखि ३०० रुपैयाँसम्ममा बिक्री भएको छ। यसबाट किसानलाई राम्रो आम्दानी हुने गरेको उनले बताए।
लक्ष्मीपूजाका लागि एक दिनअघिदेखि नै केराका थाम बिक्री हुने गरेको किसान बताउँछन्। जनकपुरधाममा शनिबार र आइतबार मात्रै करिब आठदेखि नौ हजार थाम बिक्री भएको जनकपुरधाम उद्योग वाणिज्य सङ्घका अध्यक्ष सुरेन्द्र भण्डारीले जानकारी दिए।
केराको झ्याङमा बोट धेरै गाँजिएपछि राम्रो उत्पादन लिन केही बोट हटाउनुपर्ने हुन्छ। सामान्य अवस्थामा उखेलेर फाल्नुपर्ने त्यस्ता बोट दीपावलीका बेला बिक्री हुँदा किसानलाई अतिरिक्त आम्दानी हुन्छ।
बर्दिबास नगरपालिका–९ पशुपतिनगरका केरा किसान ब्रह्मदेव महतोले केराको झ्याङमा गाँजिएका बोट हटाउनुपर्ने भए पनि दीपावलीमा बिक्री हुने भएकाले पर्व कुर्ने गरेको बताए।
उनका अनुसार अन्य समयमा उखेलेर फाल्नुपर्ने बोट व्यवस्थापन गर्न खर्च लाग्छ। तर दीपावलीमा ती बोट राम्रो मूल्यमा बिक्री हुन्छन्। उनले यस वर्ष एकै दिनमा १५ हजार रुपैयाँभन्दा बढीका केराका थाम बिक्री गरेको जानकारी दिए।
मिथिला परम्पराअनुसार लक्ष्मीपूजाका दिन घर तथा व्यापारिक प्रतिष्ठानमा केराका थामबाट स्वागतद्वार बनाउने चलन छ।
स्वागतद्वारका मूल खम्बाका रूपमा केराका थाम प्रयोग गरिने भएकाले दीपावलीमा यसको माग बढ्ने गरेको हो। सामान्यतया दुईवटा थाम प्रयोग गरेर स्वागतद्वार बनाउने चलन रहे पनि कतिपयले चारवटा थाम प्रयोग गर्छन्।
धनुषाको क्षीरेश्वरनाथ नगरपालिका–३ पकडियाका किसान रामनारायण सिंहका अनुसार यस वर्ष केराका थामका लागि एक साताअघिदेखि नै किसानले बैना लिन थालेका थिए। पर्वका दिन थामको अभाव हुनसक्ने र मूल्य बढ्नसक्ने भएकाले व्यापारीले केराघारीमै पुगेर मूल्य तय गरी खरिद गर्ने गरेका छन्।
महोत्तरीको भङ्गाहा नगरपालिका–४ का व्यावसायिक केरा किसान सत्यनारायण यादवले यस वर्ष ३५ हजार रुपैयाँ बराबरका केराका थाम बिक्री गरेको बताए। करिब एक बिघा क्षेत्रफलमा केराखेती गर्दै आएका उनका अनुसार राम्रो उत्पादन लिन केराको एउटा झ्याङमा तीनभन्दा बढी बोट राख्नु उपयुक्त हुँदैन। त्यसैले अतिरिक्त बोट छाँट्नुपर्ने हुन्छ। दीपावलीका बेला त्यस्ता बोट बिक्री हुने भएकाले किसानले यस पर्वलाई आम्दानीको अवसरका रूपमा लिने गरेका छन्।
धनुषाका जनकपुरधाम, महेन्द्रनगर, ढल्केवर, सबैला, गोदार र वीरेन्द्रबजार तथा महोत्तरीका बर्दिबास, औरही, सीतापुर, मटिहानी, रामगोपालपुर, सम्सी, गौशाला, पिपरा, बलवा र जलेश्वरलगायत बजारमा केराका थामको कारोबार भएको थियो। व्यापारिक प्रतिष्ठानका सञ्चालक तथा अन्य उपभोक्ता थाम खरिद गर्न गाउँबस्तीमै पुग्न थालेपछि किसानलाई घरबाटै बिक्री गर्न सहज भएको छ।
महोत्तरीको भङ्गाहा नगरपालिका–७ हतिसर्वास्थित झपौल बस्तीका किसान रामचन्द्र महराले चाडपर्वका बेला खर्चको जोहो गर्न केराका थाम बिक्रीले सहयोग पुगेको बताए। बजारसम्म थाम पुर्याउनुपर्ने झन्झट नभई व्यापारी घरमै आएर खरिद गर्दा पर्व मनाउन सहज भएको उनको भनाइ छ।
किसानका अनुसार दीपावलीका बेला एक जोडी केराका थाम ६०० रुपैयाँसम्ममा बिक्री हुने गरेको छ। बलवा नगरपालिकाको भगवतीपुरका किसान ललन महतोले १० कट्ठामा लगाएको केराखेतीबाट नयाँ कोथा बिक्री गरी १५ हजार रुपैयाँ आम्दानी गरेको बताए।
दीपावलीसँगै छठपर्वमा पनि केराको घरी र कोथाको माग बढ्ने गरेको छ। छठमा केराको घरी प्रसादका रूपमा चढाउने धार्मिक परम्परा रहेकाले यसको बिक्री बढ्ने किसान बताउँछन्। नियमित बजारमा बिक्री नहुने केराका अतिरिक्त बोट र कोथा चाडपर्वका बेला राम्रो मूल्यमा बिक्री हुँदा किसानका लागि अतिरिक्त आम्दानीको स्रोत बनेका छन्।
यसरी धार्मिक तथा सांस्कृतिक परम्परासँग जोडिएको केराको प्रयोगले मिथिलाञ्चलमा चाडपर्वको रौनक बढाउनुका साथै स्थानीय किसानको आयआर्जनमा पनि योगदान पुर्याउँदै आएको छ।