नेपाली कांग्रेसको शेरबहादुर देउवा समूहभित्र कैलाली जिल्ला सभापति बन्न आकांक्षीहरूको संख्या बढेसँगै नेतृत्व चयनमा रस्साकस्सी सुरु भएको छ।
जिल्ला अधिवेशन नजिकिँदै गर्दा सभापति पदका लागि आठ जनाले दाबी प्रस्तुत गरेका छन्।
सभापतिका आकांक्षीमा कैलालीका शेरबहादुर देउवा, खेम चौधरी, नवराज रावल, वीरेन्द्र भट्ट, यज्ञ उपाध्याय र विनय लामालगायत आठ जना छन्।
आकांक्षीहरूबीच सहमति जुट्न नसक्दा सर्वसम्मत नेतृत्व चयन गर्ने प्रयाससमेत सफल हुन सकेको छैन।
बिहीबार दिनभर आकांक्षीहरूबीच छलफल भए पनि कोही पनि आफ्नो दाबी छाड्न तयार नभएपछि सहमतिका लागि पुनः वार्ता गर्ने भन्दै छलफल टुंगिएको थियो।
सहमति जुट्न नसकेपछि पूर्वनिर्धारित मंसिर १ गतेको जिल्ला अधिवेशन पनि सरेको छ। अब अधिवेशन मंसिर ११ गते गर्ने गरी मिति तय गरिएको छ।
यसअघि कात्तिक १९ गते धनगढीमा भएको जिल्ला अधिवेशनको तयारी तथा समसामयिक विषयसम्बन्धी छलफलले मंसिर १ गते धनगढीमा अधिवेशन गर्ने निर्णय गरेको थियो।
सुदूरपश्चिम प्रदेशका निवर्तमान मुख्यमन्त्री एवं नेपाली कांग्रेस संसदीय दलका नेता कमलबहादुर शाहले जिल्ला नेतृत्व चयनका लागि सहमतिको प्रयास भइरहेको बताए।
उनले महाधिवेशनलाई सार्थक बनाउन वडादेखि नै सर्वसम्मत रूपमा नेतृत्व चयन गर्ने अभ्यास भइरहेको बताए। कैलालीको नेतृत्व पनि सर्वसम्मत रूपमा चयन हुनसक्ने उनले बताए।