पञ्चायतकालका अन्तिम प्रधानमन्त्री मरिचमानसिंह श्रेष्ठको शालिक सल्यानमा निर्माण भइरहेको छ।
शारदा नगरपालिका–१ श्रीनगरस्थित रुकुम चोकमा निर्माण भइरहेको शालिकको नेतृत्व राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) निकट युवा युवराज खड्काले गरेका छन्।
खड्काको अगुवाइमा स्थानीय युवा र नागरिकको सहयोगमा शालिक निर्माणको काम अघि बढेको हो। कात्तिक २७ गते एक कन्याबाट शालिक निर्माणस्थलको शिलान्यास गरिएको थियो। अहिले शालिक राख्ने इँटा र सिमेन्टको जग निर्माण भइसकेको छ। मंसिर २ गते शालिक अनावरण गर्ने तयारी गरिएको खड्काले बताए।
सल्यानको खलंगा (हालको शारदा नगरपालिका–२) मा १९९७ कात्तिक १९ गते जन्मिएका श्रेष्ठ २०४३ असार २ देखि २०४६ चैत २४ गतेसम्म नेपालको प्रधानमन्त्री थिए। उनी पञ्चायती व्यवस्थाका अन्तिम प्रधानमन्त्री हुन्। २०७० साउन ३१ गते ७३ वर्षको उमेरमा उनको निधन भएको थियो।
शिक्षक तथा प्रधानाध्यापकका रूपमा काम गरेका श्रेष्ठ राष्ट्रिय पञ्चायत सदस्य हुँदै विभिन्न मन्त्रालयका मन्त्री र राष्ट्रिय पञ्चायतका अध्यक्षसमेत बनेका थिए। उनी साबिक मध्यपश्चिमाञ्चल विकास क्षेत्रबाट प्रधानमन्त्री बन्ने एक मात्र व्यक्ति हुन्।
२०४६ सालको जनआन्दोलनपछि बहुदलीय व्यवस्था पुनःस्थापना हुने क्रममा श्रेष्ठले पदबाट राजीनामा दिएका थिए। तत्कालीन राजा वीरेन्द्रले २०४६ चैत २६ गते बहुदलीय व्यवस्था पुनःस्थापनाको घोषणा गरेका थिए।
श्रेष्ठको राजनीतिक भूमिकालाई लिएर फरक धारणा पाइन्छ। उनका समर्थकले भारतको नाकाबन्दीका बेला चीनबाट हवाई मार्ग हुँदै इन्धनलगायत सामग्री ल्याएको घटनालाई राष्ट्रवादी अडानका रूपमा व्याख्या गर्छन्। अर्कोतर्फ आलोचकहरूले उनलाई पञ्चायती निरंकुश व्यवस्थाको अन्तिम प्रधानमन्त्रीका रूपमा हेर्छन्।
बहुदलीय व्यवस्था पुनःस्थापनापछि श्रेष्ठ सार्वजनिक राजनीतिक गतिविधिबाट टाढा रहे। उनी काठमाडौंमा गाईपालन गरेर बसेका थिए। पूर्वप्रधानमन्त्रीका रूपमा पाउने सरकारी सेवा सुविधा पनि उनले नलिएको बताइन्छ।
श्रेष्ठ प्रधानमन्त्री भएका बेला सल्यानमा सडक र विद्युत् विस्तारका काम अघि बढेका थिए। उनको स्मृतिमा शालिक निर्माण गर्ने प्रयास भने यसअघि पनि भएका थिए।
२०७१ सालदेखि नेवार समुदायका केही व्यक्तिले शालिक निर्माणको पहल गरेका थिए। २०७४ सालमा खलंगाका सन्तोष श्रेष्ठको संयोजकत्वमा शालिक निर्माण समिति गठन गरिएको थियो। तर विभिन्न अवरोध र विरोधका कारण त्यसबेला काम अघि बढ्न सकेन।
२०८० सालमा युवा तथा सामाजिक अभियन्ता ध्रुवराज वलीले पुनः शालिक निर्माणको अभियान थालेका थिए। उनले प्रस्तावित स्थानमा ‘मरिचमान चोक’ नाम राखेर अस्थायी संरचनासमेत बनाएका थिए। तर नगरपालिका र स्थानीय जनप्रतिनिधिसँग समन्वयको अभाव तथा सडकको साँघुरो मोडका कारण उक्त संरचना हटाइएको थियो।
पछिल्लो पटक खड्काको अगुवाइमा स्थानीय युवा हरि बुढाथोकीलगायतले शालिक निर्माणको काम अघि बढाएका हुन्। उनीहरूले स्थानीय नागरिक र मरिचमानसिंह श्रेष्ठ फाउन्डेसनसँग परामर्श गरेर निर्माण सुरु गरेका हुन्।
सल्यानको बन्गाडका मूर्तिकार टोपेन्द्र डाँगीले आफ्नो टोपेन्द्र कला केन्द्रका तर्फबाट श्रेष्ठको शालिक निःशुल्क उपलब्ध गराएका छन्। करिब डेढ लाख रुपैयाँ मूल्य पर्ने शालिक डाँगीले आफैँ निर्माण गरेका हुन्। उनले श्रेष्ठको जीवनी समेटिएको शिलालेखसमेत तयार पारेका छन्।
खड्काका अनुसार सार्वजनिक रूपमा सहयोग आह्वान नगरे पनि जिल्ला तथा विदेशमा रहेका सल्यानवासीसँग व्यक्तिगत रूपमा आग्रह गरेर करिब डेढ लाख रुपैयाँ संकलन भएको छ। उक्त रकमबाट शालिक निर्माणस्थलमा रहेको विद्युत् पोल र ट्रान्सफर्मर स्थानान्तरण गरी चोक फराकिलो बनाइएको छ।
स्थानीय व्यवसायीले छड, सिमेन्ट र इँटालगायत निर्माण सामग्री स्वेच्छिक रूपमा सहयोग गरिरहेका छन्। निर्माणस्थलमा काम गर्ने मिस्त्री र श्रमिकले पनि पारिश्रमिक नलिई काम गरिरहेको बुढाथोकीले बताए।
शालिक निर्माणका लागि श्रमदानसहित करिब साढे पाँच लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको खड्काले बताए। उनका अनुसार शालिकको अनावरण नगरका ज्येष्ठ नागरिकबाट गराउने तयारी छ।