सीमा क्षेत्रमा हुने व्यापार तथा पर्यटन व्यवसायमा विभिन्न अवरोध सिर्जना भएको भन्दै भैरहवाका उद्योगी–व्यवसायीले प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालसँग सहजीकरणका लागि आग्रह गरेका छन्।
भारतीय पर्यटकले नगद रकम बोकेर नेपाल आउँदा प्रहरीले पक्राउ गर्ने, मालवाहक ट्रकलाई ओभरलोडको नाममा जरिवाना गर्ने र गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडान नहुनेजस्ता समस्याले यस क्षेत्रको व्यापार तथा पर्यटन प्रभावित भएको उनीहरूको भनाइ छ।
सोट्टो नेपाल लुम्बिनी प्रदेशको समन्वयमा सीमा क्षेत्रका व्यवसायीसँग भएको भेटघाट तथा छलफलमा उनीहरूले यी समस्या समाधानका लागि नीतिगत र कानुनी पहल गरिदिन सभामुख अर्यालसँग आग्रह गरेका हुन्।
पर्यटन व्यवसायी सञ्जय बजिमयले सभामुखलाई लिखित पत्र बुझाउँदै गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडान सञ्चालनका लागि पहल गरिदिन आग्रह गरे।
विमानस्थल निर्माण भएर सञ्चालनमा आए पनि नियमित उडानको सुनिश्चितता हुन नसक्दा यस क्षेत्रको पर्यटन र व्यावसायिक गतिविधिले गति लिन नसकेको उनको भनाइ थियो। विमानस्थललाई पूर्ण क्षमतामा सञ्चालन गर्न सरकार र संसद्को तहबाट पहल हुनुपर्ने उनले बताए।
प्रतिनिधिसभाका पूर्वसांसद तथा पर्यटन व्यवसायी प्रमोदकुमार यादवले भारतीय पर्यटकले नगद रकम बोकेर नेपाल आउँदा प्रहरी प्रशासनबाट दुःख पाउने गरेको विषय उठाए। नगद बोकेर आएका पर्यटकलाई प्रहरीले पक्राउ गर्ने र थुनासमेत गर्ने घटनाले सीमावर्ती क्षेत्रमा पर्यटन व्यवसाय प्रभावित भएको उनले बताए।
पर्यटकले नेपाल आउँदा भोग्नुपर्ने यस्तो समस्या समाधान गर्न स्पष्ट कानुनी व्यवस्था आवश्यक रहेको यादवको भनाइ थियो। भारतीय पर्यटकको आवागमन र नगद कारोबारसम्बन्धी अन्योल हटाउन संसद्ले आवश्यक कानुन बनाउनुपर्ने उनले बताए।
उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष ठाकुरकुमार श्रेष्ठले पनि प्रहरी प्रशासनका कारण सीमा क्षेत्रको व्यापार प्रभावित भइरहेको बताए। विशेषगरी ओभरलोडको नाममा मालवाहक ट्रकलाई १० हजार रुपैयाँसम्म जरिवाना गर्ने गरिएको उनको भनाइ थियो।
ढुवानीमा सहजता नहुँदा व्यवसायी निरुत्साहित भएको र व्यापारिक कारोबार घट्नुका साथै उद्योगी–व्यवसायीमाथि थप आर्थिक भार परेको उनले बताए।
छलफलमा च्याम्बर अफ कमर्सका पूर्वअध्यक्ष नारायणप्रसाद भण्डारी, सिद्धार्थ होटल संघका वरिष्ठ उपाध्यक्ष किशोर जोशी, नेपाल भारत मैत्री संघका अध्यक्ष श्रीचन्द गुप्ता र च्याम्बर अफ कमर्स रुपन्देहीका अध्यक्ष सचिन रोक्कालगायतले पनि सीमा क्षेत्रका व्यवसायीले भोगिरहेका समस्या राखेका थिए।
उनीहरूले गृह प्रशासनअन्तर्गतका विभिन्न निकायबाट हुने अवरोध हटाएर व्यापार तथा पर्यटन व्यवसायमैत्री वातावरण बनाउन सभामुखको ध्यानाकर्षण गराएका थिए।
व्यवसायीका गुनासा सुनेपछि सभामुख अर्यालले निजी क्षेत्रको प्रवर्द्धन र संरक्षणका लागि कानुनअनुसार सरकारसँग सहजीकरण गर्ने बताए।
‘कानुनअनुसार सहजीकरण गर्न म सधैं निजी क्षेत्रको साथमा छु,’ उनले भने।
व्यवसायीले उठाएका समस्या समाधानका लागि संसदीय समितिमा पनि लिखित उजुरी दिन सकिने उनले बताए।
गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल नियमित सञ्चालनका लागि सरकारको पहलसँगै निजी क्षेत्रले पनि भूमिका खेल्नुपर्ने सभामुख अर्यालको भनाइ थियो। विमानस्थलबाट उडान सञ्चालन गर्न यात्रुको माग सिर्जना गर्ने र पर्यटक आकर्षित गर्ने काममा पर्यटन तथा टुर्स एन्ड ट्राभल्स व्यवसायी सक्रिय हुनुपर्ने उनले बताए।
‘विमानस्थलबाट उडान सञ्चालन गर्ने वातावरण बनाउन पर्यटक आकर्षित गर्ने, यात्रुको माग सिर्जना गर्ने र पर्यटन गतिविधि विस्तार गर्ने काममा निजी क्षेत्र सक्रिय हुनुपर्छ। त्यसो भयो भने अन्तर्राष्ट्रिय उडानहरू आकर्षित हुन्छन्,’ उनले भने।
गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल, लुम्बिनी र भैरहवाको सीमावर्ती व्यापारलाई जोडेर अघि बढाउन सके यस क्षेत्रको आर्थिक गतिविधि विस्तारमा सहयोग पुग्ने व्यवसायीको भनाइ छ। उनीहरूले भारतीय पर्यटकको सहज आवागमन, मालवाहक सवारीसाधनको व्यवस्थित ढुवानी र विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडानको व्यवस्था गर्न माग गरेका छन्।