वरिष्ठ गायक तथा नाट्यकर्मी हरिप्रसाद रिमालको ९३ वर्षको उमेरमा बिहिबार राति निधन भएको हो ।
उनको आफ्नै निवास बानेश्वर हाइटमा १ बजेर ७ मिनेटमा निधन भएको हो । रिमाल लामो समयदेखि दम रोगबाट पीडित रहँदै आएका थिए जसका कारण घरमै आराम गर्दै आइरहेका थिए ।
वि. सं १९९२ असोज २ गते जन्मिएका रिमालका श्रीमती, दुई छोरा र दुई छोरी रहेका छन्।
‘फगत एक नजरमा कसैले लियो मन’ गीतका लागि चर्चित रिमालले शङ्कर लामिछानेको रचनामा सङ्गीत र स्वर दिएर रेडियो नेपालका प्रथम गायक बनेका थिए।
चर्चित साहित्यकार गोपालप्रसाद रिमालका भाइसमेत रहेका उनी पारिवारिक नाटक सम्बन्धका कारण सानैदेखि कलाकर्ममा जोडिन पुगेका थिए। उनले नाटकका साथै चलचित्रका समेत कुशल अभिनेता हुन्।
उनले 'आमा', 'मनको बाँध', 'परिवर्तन', 'के घर के डेरा', 'सन्तान' लगायतका फिल्ममा अभिनय गरेका थिए।
त्यस्तै बालकृष्ण समका चेला हरिप्रसाद रिमाल 'भीमसेनको अन्त्य' र 'मुकुन्द इन्दिरा' जस्ता ऐतिहासिक नाटकमा अभिनयका साथै गायनबाट आफ्नो परिचय स्थापित गर्न सफल नेवारी भाषा बोल्न सिपालु उनले नेवारी नाटक लेख्ने र मञ्चन गर्ने कार्यसमेत गरेका थिए। उनले रेडियो नेपाल मार्फत् रेडियो नाटक (रूपक)लाई शिखरमा पुर्याउने काम गरे।
उनको पार्थिव शरीरलाई आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने पारिवारिक स्रोतले जानकारी दिएको छ