अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएलाकी विपक्षी नेता मारिया कोरिना मचाडोबाट गत वर्षको नोबेल शान्ति पुरस्कार स्वीकार गर्ने बताएका छन्।
इसराइल र हमासको युद्ध लगायत आठ वटा युद्ध रोकेको भन्दै ट्रम्पले नोबेल शान्ति पुरस्कार आफूले पाउनु पर्ने दाबी गर्दै आए पनि मचाडोले गत वर्ष पुरस्कार जितेकी थिइन्।
ट्रम्पले बिहीबार फक्स न्युजसँगको एक अन्तर्वार्तामा मचाडोले आफूसँग बाँड्न चाहेको सो पुरस्कार स्वीकार गर्ने बताएका छन्।
'मलाई थाहा भएसम्म उनी अर्को हप्ता कुनै समय आउँदै छिन् र म उनलाई स्वागत गर्न उत्सुक छु,' ट्रम्पले भने।
मचाडोले उक्त पुरस्कार आफूलाई दिन चाहेको सुनेका बताउँदै उनले त्यसो गरे ‘एक ठूलो सम्मान हुनेछ’ ट्रम्पले भनेका छन्।
ट्रम्पले दाबी गरेको नोबेल शान्ति पुरस्कार जितेपछि मचाडोले अमेरिकी राष्ट्रपतिको प्रशंसा गर्दै आएकी थिइन्। साथै सैनिक हस्तक्षेप गरेर भए पनि भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरोलाई सत्ताच्युत गर्न ट्रम्पलाई आग्रह गर्दै आएकी थिइन्। उनको माग अनुसार ट्रम्पले गत शनिबार सेना पठाएर मदुरोलाई पक्राउ गरेर अमेरिका लगे।
त्यसपछि आयोजित पत्रकार सम्मेलनमा ट्रम्पले भेनेजुएलाकी विपक्षी नेता मचाडोले शासन नचलाउने स्पष्ट पारेका थिए।
मचाडो असल भए पनि देशभित्र उनको समर्थन नभएको भन्दै उनलाई शासन चलाउन गाह्रो हुने ट्रम्पले औंल्याएका थिए। आफूले चाहेको नोबेल पुरस्कार मचाडोले पाएको तुष ट्रम्पले पोखेको भनेर कतिले आकलन गरेका थिए।
त्यसको एक साता नबित्दै ट्रम्पले मचाडोको हातबाट नोबेल पुरस्कार थाप्ने बताएका हुन्।
ट्रम्पले गत वर्ष नोबेल शान्ति पुरस्कार पाउनु पर्ने दाबी गर्दै आएका थिए। त्यसकै लागि केही महिनाअघि नर्वेका अर्थमन्त्री जेन्स स्टोल्टेनबर्गलाई उनले अकस्मात् फोन गरेर सो पुरस्कारका लागि आफ्नो दाबी प्रस्तुत गरेका थिए।
अमेरिकाले नेतृत्व गरेको सैन्य गठबन्धन नेटो महासचिवको १० वर्षको कार्यकाल स्टोल्टेनबर्गले गत वर्षको अक्टोबरमा पूरा गरेका थिए।
ट्रम्पको पहिलो कार्यकालमा पनि स्टोल्टेनबर्ग नेटो महासचिव रहेका कारण ट्रम्पको उनीसँग राम्रो चिनजान थियो। त्यसैले उनले स्टोल्टेनबर्गसँग पुरस्कारबारे कुरा गरेका थिए।
स्विडेनका वैज्ञानिक अल्फ्रेड नोबेलको नाममा विभिन्न विधामा दिइने नोबेल पुरस्कार स्विडेनमा रहेको नोबेल फाउन्डेसनले दिन्छ।
नोबेल शान्ति पुरस्कार विजेताको छनोट भने नर्वेली नोबेल समितिले गर्छ। सो समितिमा नर्वेली संसदले सिफारिस गरेका पाँच सदस्य हुन्छन्। त्यसैले ट्रम्पले आफ्नो दाबी पेस गर्न नर्वेली मन्त्रीसँग कुरा गरेका थिए।
नोबेल पुरस्कार पाउने ट्रम्पको उत्कट चाहना छ। उनको पहिलो कार्यकालभन्दा पहिलेका राष्ट्रपति बाराक ओबामाले पनि नोबेल शान्ति पुरस्कार पाएका थिए। ओबामाले केही नगरी नोबेल पुरस्कार पाएको भन्दै ट्रम्पले पहिलो कार्यकालदेखि नै सो पुरस्कारको दाबी गर्दै आएका थिए।
दोस्रो कार्यकालमा पनि उनले बारम्बार त्यसको दाबी गर्दै आएका छन्।
उनलाई खुसी पार्न भारत-पाकिस्तानको युद्ध रोकेको भन्दै पाकिस्तानले अनि इरान-इसराइल युद्ध रोकेको भन्दै इसराइलले नोबेल पुरस्कारका लागि उनलाई औपचारिक रूपमा सिफारिस नै गरेका थिए। आफूले नगरेको कामको पनि श्रेय लिने ट्रम्पले दोस्रो कार्यकालमा आठ वटा युद्ध रोकेको दाबी गर्दै आएका थिए।
(विभिन्न अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूको सहयोगमा तयार पारिएको)