मान्छेलाई दुखाइको बारेमा जनचेतना एकदमै कम छ। दुखाइ पनि एउटा रोग हो भनेर जानकारी छैन।
हामीजस्ता पेन फिजिसियनले उपचार गर्ने भनेको दीर्गकालीन दुखाइको हो। मुख्यता दुखाइलाई विभिन्न भागमा वर्गीकरण गरिन्छ। त्योमध्ये एउटा दीर्घकालीन दुखाइ हो।
दुखाइको समयको आधारमा कुनै पनि दुखाइ १२ हप्ताभन्दा बढी भयो भने त्यसलाई दीर्घकालीन दुखाइ भनिन्छ। यस्तो दुखाइको उपचार खोज्नु पर्छ। यसमा कस्तो दुखाइ पर्छ भने त्यो दुखाइ कुनै पनि अंगसँग सम्बन्धित हुन्छ।
बाथको अनि मेरूदण्डको समस्या हुन सक्छ। मांसपेशीको दुखाइ हुन्छ। नशा च्यापिएर अनि नशाजन्य दुखाइ, जनै खटिराको कारण हुने दुखाइ हुन्छन्।
अनुहार झमझमाउने दुखाइ हुन्छ। माइग्रेनको दुखाइ त्यसै गरेर, क्लष्टर हेड्याक पनि हुन्छ। क्यान्सर रोग र बुढेसकालमा मांसपेशी हड्डीहरू कमजोर भएर हड्डी मक्किएर खिएर हुने दुखाइ दीर्घ दुखाइ हो।
खेल्दा मांसपेशी च्यातिर जुन चोट र दुखाइ हुन्छ। त्यसलाई पनि पेन मेडिसिन अन्तर्गत हेर्न सकिन्छ।
अधिकांश बिरामीमध्ये हाम्रोमा आउँदा धेरैले अन्त उपचार गरेर आउँछन्। घुँडाको कुरकुरे हड्डी खिइने समस्या लिएर समेत बिरामी आउँछन्।
हरेक किसिमको रोगको आफ्नै पद्धति हुन्छ। रोगको उपचारसँगै दुखाइको उपचार अर्को हुन्छ।
दीर्घकालीन दुखाइका बिरामीमध्ये धेरै कम्मरको दुखाइ लिएर आउँछन्। यो समस्या विभिन्न उमेर समूहमा हुने गर्छ।
लामो समय कुर्सीमा बसेर काम गर्ने अनि एउटै पोजिसनमा बसेर मोबाइल, ल्यापटप चलाउने गर्दा गाह्रो भएको छ। साधनको प्रयोग धेरै भएका कारण ढाड दुख्न थालेको छ।
युवाहरूमा बाथरोग समेत देखिन थालेको छ। बाथ रोगले मेरूदण्डको हड्डीमा असर गर्छ। युवाहरू तनावमा हुने, नसुत्ने, व्यायामको कमी लगायतले समेत दुखाइको समस्या बढिरहेको छ।
अर्को, क्यान्सरको समस्या बुढेसकालको दुखाइ पनि हुन्छ। क्यान्सरको दुखाइ सहनै नसक्ने हुन्छ तर यसको पनि हामीले व्यवस्थापन गर्न सकिन्छ।
धेरैले दुखाइलाई बुढेसकालको साथी मान्छन्। अर्थात् बुढेसकालमा शरीर दुख्नु सामान्य हो भन्छन्। यसको पनि उपचार सम्भव छ। त्यसलै दुखाइबाट मुक्त हुनु तपाईंको अधिकार हो।
जसरी दुखेको भए पनि र जहाँ दुखेको भए पनि दुखाइको व्यवस्थापन कसरी गर्ने भन्ने हो।
त्यसैले दुखाइको कारण पत्ता लगाउन जरूरी छ। जस्तो- ढाड दुखेर बिरामी आएको छ भने उसको दुखाइको कारण पत्ता लगाउन जरूरी छ।बिरामीलाई रोगको अवस्था हेरेर दुखाइको कारण पत्ता लगाएर उपचार गरिन्छ।
हामीले दुखाइको व्यवस्थापनका लागि विभिन्न विशेषज्ञ चिकिसकसँग छलफल गर्छौं। यो एउटा सामूहिक खालको उपचार पद्धति पनि हो। जस्तो हामीकहाँ टाउको दुखेर धेरै लामो समयदेखि औषधि खाएको र अब औषधि खाने चाहना नभएकाहरू आउँछन्। कतिपय बिरामीहरू माइग्रेन मात्र नभएर अरू कारणले दुखेर समेत आउने हुन्छन्। माइग्रेनका बिरामीले न्युरोलोजिष्ट र फिजिसियनलाई देखाएर औषधि लिइरहेका हुन्छन्। त्यसले पनि उहाँहरूको दुखाइ कम भएको छैन भने हामीले रेडियो फ्रिक्वेन्सी पद्धति लगायतका उपचार विधि अनि विभिन्न खालका थेरापी विधि अपनाउँछौं। यस्तो अवस्थामा बिरामीले उपचार गराइरहेका चिकित्सकको समन्वयमा उपचार गरिन्छ।
कतिले शरीरको कुनै पनि अंग दुख्नासाथ दुखाइ कम गर्ने औषधि खान्छन्। मेडिकलमा सजिलै औषधि पाउने भएकाले सिधै किनेर खाने चलन छ।तर दुखाइका कारण खाने औषधिले मिर्गौला, कलेजोको असर गर्ने अनि ग्याष्ट्रिक गराउने समेत हुन्छ।
अरू दीर्घ रोग भएकाहरूले समेत जथाभावी औषधि खान हुँदैन।
दुख्ने बित्तिकै दुखाइ कम गर्ने औषधि खान हुँदैन। 'पेन किलर' ले भित्रभित्रै शरीरलाई कमजोर बनाउँछ। आफूलाई दुखाइ छ भने डाक्टरसँग परीक्षण गरेर उपचार गर्नुपर्छ।
दुख्यो भन्दैमा जथाभावी सिटामोल खान हुँदैन। सिटामोल खान भइहाल्छ भन्ने धेरैको बुझाइ छ। तर यसले पनि कलेजोलाई असर पारिरहेको छ।त्यसैले सिटामोलको पनि धेरै प्रयोग नगरौं।
(दुखाइ रोग विशेषज्ञ डा. हरि पौडेल पोखरा पेन केयर सेन्टरमा कार्यरत छन्।)