केही दिनअघि कुरिनटारनजिकै त्रिशुलीको झोलुंगे पुलमुनि एक युवा बगिरहेका हुन्छन्। नदीको बीचमा पुगेपछि उनले बचाउन आग्रह गर्छन्। सशस्त्र प्रहरी बलका तालिमप्राप्त प्रहरीहरू रसी(डोरी)को सहायताले पुलबाट फाल हाल्छन्। दुई जनाको सक्रियतामा ती युवाको उद्धार हुन्छ। सशस्त्रकै चिकित्सकले उनको उपचार गर्छन्।
अर्का एक व्यक्ति पनि नदीमै बगिरहेको बेलामा सशस्त्र प्रहरीको डुंगामा रहेको टोलीले उद्धार गर्छ। नदीको वहाब बढेकाले उद्धारमा केही जटिलता थपिन्छ। अनुमान गरेभन्दा केही तल पुगेरमात्रै उनीहरू उद्धार गर्न सफल हुन्छन्।
यी दुई घट्ना वास्तविक होइनन्, विपदका बेला कसरी उद्धार गर्ने भनेर सशस्त्र प्रहरीले गरेका नमूना अभ्यास हुन्।
नेपाल प्राकृतिक रूपमा उच्च जोखिम भएको मुलुक हो। बाढी पहिरो, हावाहुरी, भूकम्प, आगलागी, सडक दुर्घटनालगायत विपद् हामीले भोगिरहेका हुन्छौं। ती विपदबाट जोगिन तयारी भने निकै न्यून छ।
सशस्त्र प्रहरी बल विपद् तालिम शिक्षालयले यस्ता खालका विपदबाट जोगिन र विपदमा परेकाहरूको उद्धार गर्न विभिन्न तालिम चलाउँदै आएको छ।
२०६८ सालमा स्थापना भएको शिक्षालयले सशस्त्रका उच्च अधिकृत तथा अन्य कर्मचारीलाई तालिम दिने गर्छ।
नेपाल प्रहरी र निजामती कर्मचारीलाई पनि बेलाबखत तालिम दिने गरिएको छ भने समुदायमा आधारित भएर पनि तालिम हुने गरेका छन्।
आपतविपद् परेको खण्डमा तत्काल परिचालन हुनेगरी चौबिसै घन्टा तयारी अवस्थामा रहने गरेको शिक्षालयका प्रमुख एवम् वरिष्ठ प्रहरी उपरीक्षक किशोर प्रधानले बताए।
‘हामी महाभूकम्पको बेला पनि परिचालित थियौं। मानवजन्य र प्राकृतिकजन्य विपदमा हामी लाग्छौं,' शिक्षालय प्रमुख प्रधानले भने, ‘हामीले यहाँबाट नेपालभरि विपद्को बेला खटाइरहेको अवस्था छ। सवारी दुर्घटनामा होस् या कोही नदीनालामा पौडी खेल्दा हराइरहेको होस्, हामी जुनसुकै बेलामा परिचालन छौं।'
राजमार्ग छेउ भएकाले सडक दुर्घटना हुँदासमेत शिक्षालयबाट उद्धार टोली खटिने गरेको छ।
दुर्घटनाका घाइतेको उपचारका लागि २५ शैय्याको ट्रमा सेन्टरसमेत शिक्षालयमा स्थापना गरिएको छ। नदी किनारको सडक भएकोले दुर्घटना भएका सवारी साधनहरू नदीमा समेत खसेका हुन्छन्। यस्तो बेलामा यात्रुको उद्धारका लागि डुंगासहितको प्राविधिक टोली र गोताखोरलाई खटाइएको हुन्छ। भूकम्प, बाढीपहिरोलगायत विपत्तिमा त आवश्यक मात्रामा खट्नु पर्ने नै हुन्छ।
विपद व्यवस्थापन गर्न ठूलो मात्रामा जनशक्ति तयार पार्न जरूरी रहे पनि आवश्यक मात्रामा शिक्षालयले विज्ञहरू उत्पादन गर्न सकिरहेको छैन।
‘सीमित स्रोतसाधनको अभावमा पनि नियमित रूपमा विपद् व्यवस्थापनसम्बन्धी तालिम गरेका छौं। हामीले स्थानीयस्तरमा जनसमुदालाई पनि केन्द्रित गरेर तालिम प्रदान गरेका छौं,’ प्रधानले भने,‘विपद् व्यवस्थापनको सबै खालका प्याकेज हामीले दिन्छौं। स्वास्थ्य उद्धार, मृत शरीरको व्यवस्थापन, पानीसँग सम्बन्धित उद्धारलगायतका प्याकेज राखेर साढे २ महिनासम्मको तालिम दिइन्छ।’
कुरिनटारमा दिइने तालिम प्रारम्भिकमात्रै हो, त्यो पनि सीमित छ। सशस्त्र प्रहरी बलको विपद् व्यवस्थापन तालिमको गुणस्तर अझै बढाउनका लागि बजेट पर्याप्त छैन।
स्रोत र साधन हरेक वर्ष थपिएको हुन्छ तर यो पर्याप्त छैन। आधुनिक प्रविधि र त्यो अनुसारको तालिम प्राप्त प्राविधिक जनशक्ति नभएकाले पनि खोजी तथा उद्धार कार्यमा समस्या भने भइरहेको छ।
विभिन्न खालका समस्याका बाबजुद पनि उद्धार कार्यमा सफल भइरहेको शिक्षालय प्रमुखले दाबी गरे।