वीरगञ्जमा धारिलो हतियारको प्रहारबाट एक युवक घाईते भएका छन् । वीरगञ्ज महानगरपालिका वडा नं १६ घुसुकपुरका १८ वर्षीय सुरज महतो घाइते भएका हुन् । उनको पेटमा दुई ठाउँमा चोट लागेको छ । वीरगञ्ज स्थित नारायणी अस्पतालमा उपचार भईरहेको छ।
‘घर छेउकै प्लटमा ५/६ जना आगो तापिरहेका थियौं। धारिलो हात हतियार बोकेका केटाहरुको समूह आएर एक्कासि आक्रमण गरे। बाँसले पनि हाने,’ उनले भने, ‘ किन आक्रमण गरेका हुन् थाहा छैन।’
उनीसँगै रहेका विकास कुमार महतोले आफूलाई पनि उनीहरूले लडाएर कुटपिट गरेको बताए। भिश्वा र फुलबारी टोलका केटाहरुको समूहले आएर कुटपिट गरेको उनको भनाई छ।
वडा प्रहरी कार्यालय विर्ताका प्रहरी निरीक्षक विक्रम सुवेदीले अज्ञात समूहले धारिलो हतियारले प्रहार गरी सुरजलाई घाइते बनाएको पुष्टि गरे ।
‘घाइतेको घाउ हेर्दा चक्कु प्रहार गरिएको जस्तै देखिन्छ, तर घटनास्थलमा प्रहरी पुग्दा कुटपिट गर्नेहरु भागिसकेको थियो, चक्कु पनि फेला परेन,’ उनले भने, ‘घटनाबारे थप अनुसन्धान गरिरहेका छौं ।’
कुटपिट गर्ने व्यक्तिहरूको खोज तलास जारी रहेको उनले बताए।