गृह मन्त्रालयले मंगलबार ७७ वटै जिल्ला प्रशासन कार्यालयहरूलाई १० बुँदे निर्देशनात्मक सर्कुलर जारी गरेको छ।
तराई तथा मधेसका केही जिल्लाहरूमा धार्मिक तथा सामाजिक सदभाव खलबलाउने गरी भएका केही घटनाका सम्बन्धमा जिल्ला तहमा धार्मिक सहिष्णुता कायम राख्न भएका पहलकदमीसहितको प्रगतिलाई समेटेर पठाउन मन्त्रालयले सर्कुलर जारी गरेको हो।
मन्त्रालयकी उपसचिव तथा सूचना अधिकारी रमा आचार्य सुवेदीद्वारा जारी निर्देशनमा सबै प्रमुख जिल्ला अधिकारीहरूलाई कानुनले निषेध गरेका त्यसका गैरकानुनी क्रियाकलापमा लाग्ने जो कोहीलाई अविलम्ब कानुनी दायरामा ल्याई कारबाही प्रक्रिया सुरू गर्न भनिएको छ।
यस्तै, बुँदा नम्बर २ मा धार्मिक, सामाजिक, एवंम सांस्कृतिक सदभाव र सहिष्णुता प्रवर्द्धन गर्न सरोकारवाला सहितको समन्वय बैठक गर्न निर्देशन भएको छ।
यसका लागि जिल्ला स्थित राजनीतिक दलका प्रमुखहरू, सामाजिक, सांस्कृतिक एवं धार्मिक क्षेत्रका अगुवाहरूलाई सदभावका लागि सार्वजनिक आह्वान गर्ने निर्देशन भएको छ।
सबै पक्षहरूको सहभागितामा सदभाव र्याली आयोजना गरी त्यस्ता घटनाहरू बढ्न नदिने र सीमा क्षेत्रमा हुने आवागमनमा कडाइका साथ जाँचको व्यवस्था मिलाउन पनि भनिएको छ।
स्थानीय स्तरमा समेत विभिन्न सञ्चार माध्यमहरूबाट स्थानीय भाषामा सामाजिक सदभाव बढ्ने खालका कार्यक्रम सञ्चालन गर्न र प्रदेश तथा स्थानीय स्तरमा समन्वयात्मक र प्रवर्द्धनात्मक कार्यक्रमहरू सञ्चालनमा जोड दिन निर्देशन दिइएको छ।
यस्तै, बुँदा नम्बर ७ मा प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा सात सदस्यीय जिल्ला शान्ति तथा सामाजिक सदभाव समिति गठन गरी क्रियाशील गर्ने गराउनेबारे निर्देशन गरिएको छ।
समितिमा जिल्ला सुरक्षा समितिका पदाधिकारीहरू सदस्य, जिल्लास्थित राजनीतिक दलका अध्यक्ष वा प्रतिनिधि सदस्य, नेपाल उद्योग वाणिज्य महासंघका जिल्ला अध्यक्ष सदस्य, पत्रकार महासंघका जिल्ला अध्यक्ष सदस्य, नेपाल बार एसोसिएसनका जिल्ला अध्यक्ष सदस्य, जिल्ला समन्वय समितिका प्रमुखले तोकेको प्रतिनिधि र सामाजिक, सांस्कृतिक एवं धार्मिक क्षेत्रका अगुवा सदस्य रहने समिति गठन गरिएको छ।
यस्तै विगतका वर्षहरूमा घटनाहरूको अभिलेखको आधारमा विवाद हुन सक्ने सम्भावित कार्यक्रम वा पर्वहरूको सूची तयार गरी वार्षिक क्यालेन्डर तयार गर्ने गरीसमेत काम गर्न निर्देशन गरिएको छ।