कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले सरकारले निर्वाचन सुरक्षाको सम्पूर्ण प्रत्याभूति जनाएको र तोकिएको समयमा नै निर्वाचन हुने बताएका छन्।
निर्वाचनको विकल्प निर्वाचन नै भएको बताउँदै कार्यवाहक प्रमुख भण्डारीले निर्वाचन हुन्छ कि हुँदैन भन्ने जनमानसको प्रश्न चिरेर आयोग तयारीमा जुटेको बताएका हुन्।
निर्वाचनका प्रशिक्षक प्रशिक्षण सम्बन्धी कार्यशालामा भण्डारीले निर्वाचन सुरक्षाका लागि आयोगले सरकार लगायतका सबै निकायसँग समन्वय गरिरहेको बताए।
निर्वाचन हुन्छ कि हुँदैन भन्ने संशय विगतमा पनि रहेको स्मरण गर्दै उनले निर्वाचनको कुनै विकल्प नरहेको बताए।
उनले भने, 'संविधान सभाको निर्वाचन हुन्छ कि हुँदैन भनेर अघिल्लो दिनसम्म सारा मान्छेको शंका–उपशंका थियो। भोलिपल्ट मतदानको प्रक्रिया सम्पन्न भएपछि निर्वाचन त भयो नि। त्यसैले अहिले पनि सुरूदेखि निर्वाचन हुन्छ कि हुँदैन? के निर्वाचन हुन्छ त? अहिले पनि जनमानसमा आउने प्रश्न यही हो। यो प्रश्नलाई चिरेर निर्वाचनको विकल्प छैन, निर्वाचनको विकल्प निर्वाचन नै हो र निर्वाचन हुन्छ।'
जेनजी आन्दोलनको फरक पृष्ठभूमिका निर्वाचन हुन गइरहेको भन्दै निर्वाचन सम्पन्न गर्ने आयोगको अठोट रहेको भण्डारीले बताए।
सरकारले सुरक्षा व्यवस्था सुदृढीकरणका लागि सातै प्रदेशमा सुरक्षा गोष्ठी सम्पन्न गरेको पनि उनको भनाइ थियो।
आयोगले चुनावको तयारीका क्रममा प्रदेशका प्रमुख सचिव र सचिवहरूसँग पनि परामर्श गरेको कार्यवाहक प्रमुख भण्डारीले बताए।
निर्वाचन आयोग व्यवस्थापकीय भूमिकामा चुस्त रूपमा तयारीमा लागिरहेको पनि उनको भनाइ छ।