दाङको घोराहीबाट दस किलोभन्दा बढी चरेससहित चार जना पक्राउ परेका छन्।
रूकुम पूर्वको भूमे गाउँपालिका–२ घर भई दाङको घोराही उपमहानगरपालिका–१३ वनगाउँ चौतारी टोलमा कोठा भाडामा बस्दै आएकी ३४ वर्षीया बिनमाया पुन र ३९ वर्षीय दीपक पुन मंगलबार पक्राउ परेका थिए।
लागुऔषधको अवैध कारोबार भइरहेको भन्ने गोप्य सूचनाको आधारमा पुगेको प्रहरीले उनीहरूको कोठा खानतलासी गर्ने क्रममा ७७४ ग्राम चरेस बरामद गरेको थियो।
जिल्ला प्रहरी प्रवक्ता डीएसपी चक्रबहादुर शाहका अनुसार उनीहरू बस्ने कोठामा चामलको बोराभित्र लुकाएर राखिएको अवस्थामा उक्त परिमाणमा चरेस बरामद भएको थियो।
जिल्ला अदालतले उनीहरूलाई सात दिन थुनामा राखेर अनुसन्धान गर्न मंगलबार अनुमति प्रदान गरेको छ।
सोमबार नै घोराही–१३ चौतारी टोलबाट अरू थप दुई जना महिलालाई पनि प्रहरीले पक्राउ गरेको थियो।
पक्राउ पर्नेमा रूकुम पूर्वकै भूमे–२ की २९ वर्षीया रूपा बुढा मगर र ३० वर्षीया हासी पुन मगर छन्।
उनीहरू भाडामा बस्ने घरको कोठामा फेला परेको सुटकेसभित्र लुकाएर राखिएको अवस्थामा ९ किलो ६१९ ग्राम चरेश बरामद भएको डिएसपी शाहले बताए।
उनीहरूको साथबाट एक जोडी बाँदेलको दाँत पनि बरामद भएको छ।
जिल्ला अदालतले उनीहरू दुई जनालाई पनि सात दिन थुनामा राखेर घटना अनुसन्धान गर्न अनुमति प्रदान गरेको छ।