महानगरीय ट्राफिक प्रहरी महाशाखाले काठमाडौं उपत्यकामा सडक लाइटको व्यवस्थापन गर्ने योजना अघि सारेको छ।
महाशाखाका नवनियुक्त प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकालले काठमाडौं उपत्यकाको सडकको लाइट व्यवस्थापनको कामलाई आफूले उच्च प्राथमिकता दिने बताए।
सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गरी उनले सडक व्यवस्थापनका लागि प्रविधियुक्त ट्राफिक व्यवस्थापनमा आफ्नो मुख्य जोड रहने कार्ययोजना पनि सार्वजनिक गरे।
नवनियुक्त प्रमुख ढकालले काठमाडौं उपत्यकाको सडक व्यवस्थापनका लागि स्मार्ट ट्राफिक पुलिसको अवधारणा पनि अघि सारे।
जिम्मेवार, अनुशासित ट्राफिक प्रहरीको व्यवस्थापन गरी सडकको ट्राफिक व्यवस्थापनको कामलाई अझ बढी प्रभावकारी बनाउने उनको भनाइ छ। प्रमुख ढकालले ट्राफिक व्यवस्थापनसम्बन्धी कानुन कार्यान्वयनमा पनि कडाइ गर्ने प्रतिवद्धता व्यक्त गरे।
यसैबीच, महाशाखाले चोरी भएका १८ वटा मोटरसाइकल नियन्त्रणमा लिइ सवारीधनीलाई बुझाएको छ।
सोमबार रामशाहपथस्थित महाशाखाको कार्यालय परिसरबाट काठमाडौं उपत्यकाको विभिन्न स्थानबाट चोरी भइ नियन्त्रणमा लिएका सो मोटरसाइकल सवारीधनीलाई हस्तान्तरण गरेको हो।
त्यस क्रममा सो मोटरसाइकल चोरीमा संलग्न काठमाडौं नागार्जुनका २६ वर्षीय प्रदीप खड्गी, सोही ठाउँका २५ वर्षीय रोशन खड्कालाई पनि पक्राउ गरिएको महाशाखाका प्रमुख ढकालले जानकारी दिए।
त्यसैगरी मोटरसाइकल चोरीमा संलग्न चितवनको २० वर्षीय अञ्जन विश्वकर्मालाई पनि काठमाडौंको सितापाइलाबाट पक्राउ गरिएको छ।