ललितपुर महानगरपालिका- ५ लगनखेलस्थित न्हु पोखरीसँगैको खाली जमिनमा पार्क निर्माण हुने भएको छ।
स्विस सरकार विकास सहयोग एसडिसीको प्राविधिक सहयोगमा पोखरीको पूर्वतर्फको खाली स्थानमा पार्क निर्माण गर्न लागिएको महानगरले जनाएको छ।
पार्क निर्माण सम्बन्धि समझदारीपत्रमा आइतबार नगर प्रमुख चिरीबाबु महर्जन र स्विस सरकार विकास सहयोग एसडिसीको तर्फबाट साकिल मानन्धरले हस्ताक्षर गरेका थिए।
नगर प्रमुख चिरीबाबु महर्जनले महानगरले हरियाली प्रवर्धन र खुल्ला ठाउँ संरक्षणलाई प्राथमिकतामा राखेर काम गरेको बताए।
निर्माण हुने यो पार्कले महानगरको खुल्ला ठाउँ संरक्षणको नीतिलाई बल पुर्याएको बताउँदै पार्क निर्माणका लागि प्राविधिक सहयोग गरेकोमा धन्यवाद दिए।
वडा नंं ५ का वडा अध्यक्ष विकासमान श्रेष्ठले पोखरीसँगै बन्ने पार्कले शहरलाई थप सुन्दर बनाउने दाबी गरे।
जलवायु परिवर्तनले विश्वभरको वातावरण बिग्रदै गएको बताउँदै खुल्ला ठाउँ र हरियालीले वातावरण जोगाउन सहयोग गर्ने उनको भनाइ छ।
स्विस सरकार विकास सहयोग एसडिसी साकिल मानन्धरले महानगरसँग सहकार्य गर्न पाएकोमा खुसी व्यक्त गरे।