पैंसठ्ठी हजार घुस लिएको आरोपमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगको टोलीले बिहीबार नवलपरासीबाट दुई जनालाई नियन्त्रणमा लिएको छ।
अख्तियारका अनुसार सव-डिभिजन वन कार्यालय, प्रतापपुर नवलपरासी वर्दघाट-सुस्तापश्चिमका सहायक वन अधिकृत पर्शुराम चौधरी र वन कार्यालयको घरबेटी मनोजकुमार शर्मालाई अख्तियारले पक्राउ गरेको हो।
डिभिजन वन कार्यालयले नियन्त्रणमा लिएको ट्याक्टरको मुद्दा मिलाइदिने भन्दै सेवाग्राहीसँग घुस लिएको आरोपमा उनीहरूलाई पक्राउ गरिएको अख्तियारले जनाएको छ।
घुस मागिरहेको उजुरीको आधारमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय बुटवलबाट खटिएको टोलीले सहायक वन अधिकृत चौधरी र शर्मालाई सेवाग्राहीसँग पैंसठ्ठी हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा जिल्ला सरकारी वकिलको कार्यालय, नवलपरासी वर्दघाट-सुस्तापश्चिम कार्यालय परिसरबाट नियन्त्रणमा लिइएको अख्तियार प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए।
यस्तै, यातायात व्यवस्था कार्यालय साना-ठुला सवारी ३ नम्बर प्रदेश, ललितपुरका सिनियर इलेक्ट्रिसियन रुपकप्रसाद गुरागाईलाई अख्तियारले बिहीबार घुससहित पक्राउ गरेको छ। सवारीसाधनहरूको बाटो इजाजत पत्रका लागि सेवाग्राहीसँग घुसबापत ६० हजार रकम बैंक खतामा दाखिला गर्न लगाएर बैंक भौचर लिएको अवस्थामा उनलाई कार्यालयबाटै नियन्त्रणमा लिइएको अख्तियारले जनाएको छ।