सेयर कारोबारी दीपेन्द्र अग्रवाल ४९ लाख १९ हजार ८६५ रुपैयाँ धरौटी जमानत बुझाएर छुटेका छन्।
केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले अग्रवालसँग उक्त धरौटी जमानत लिएर छाडेको एसपी निरन्जन भट्टले जानकारी दिए।
अग्रवाललाई मुलुकी फौजदारी कार्यिवधि संहिता, २०७४ को दफा १५ को व्यवस्था अनुसार सिआइबीले नै जमानत लिएर छाडेको थियो।
उक्त दफामा हिरासतमा रहेको व्यक्तिलाई अनुसन्धान अधिकारीले छाड्न सक्ने उल्लेख छ।
‘यस ऐन बमोजिम अनुसन्धानको सिलसिलामा हिरासतमा रहेको कुनै व्यक्तिलाई हिरासतमा राखिरहनु आवश्यक वा उपयुक्त नदेखिएमा अनुसन्धान अधिकारीले सरकारी वकिलको सहमति लिई वा तत्का त्यस्तो सहमति लिन सकिने अवस्था नभएमा कारण सहितको पर्चा खडा गरी त्यस्तो व्यक्तिबाट धरौटी वा जमानत लिई वा उनलाई कुनै माथवर व्यक्तिको जिम्मामा हाजिर जमानीमा छाड्न वा तारिदमा राख्न सकिनेछ,’ उक्त दफामा भनिएको छ।
सिआइबीले उनलाई पुस ४ गते पक्राउ गरेको थियो। उनीविरूद्ध नेपाल धितोपत्र बोर्डले उजुरी गरेपछि सिआइबीले उनलाई पक्राउ गरेको थियो।
बोर्डले गरेको प्रारम्भिक जाँचबुझ प्रतिवेदनका अनुसार अग्रवालले जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको सेयर खरिद गरेका थिए।
उनले धितोपत्रसम्बन्धी ऐन, २०६४ को दफा ९७ (ग) बमोजिम झुक्क्याउने विवरण दिएर भ्रामक सूचना सार्वजनिक गरेको आरोप छ।
उक्त दफाको ‘ग’ मा भनिएको छ, ‘बदनीयत साथ कुनै तथ्य वा जानकारी लुकाउने र बदनीयत साथ झूटा वा भ्रामक विवरण प्रतिज्ञा वा पूर्वअनुमान बनाउने वा प्रकाशित गर्ने।’
यसरी बदनीयत राखेर उनले सेयर बिक्री गरी ४९ लाख १९ हजार ८६५ रुपैयाँ कानुन विपरीत नाफा कमाएको आरोप सिआइबीको थियो।
अग्रवालले अन्य टिएमएस युजर प्रयोग गरी आपसी खरिदबिक्री तथा आफन्त सम्बद्ध संस्थाबीच वास्तविक स्वामित्व नबदलिने गरी कारोबार गरेको आरोप छ।
त्यस्तै यसरी उनले कर्पोरेट डेभलपमेन्ट बैंकको सेयर मूल्य पनि कृत्रिम रूपमा बढाएको देखिएको हो।
उनले सोही ऐनको दफा ९४ को क र ख अनुसार र दफा ९५ अनुसार झूटो कारोबार र मूल्य प्रभावित पार्ने कसूरसमेत गरेको बोर्डको प्रतिवेदनमा देखिएको थियो।
सोही प्रतिवेदनको आधारमा प्रहरीले अग्रवाललाई पक्राउ गरेको थियो। यसअघि पनि प्रहरीले अग्रवाललाई ठगी कसूरमा पक्राउ गरिसकेको छ।