जुम्लाको चन्दननाथ नगरपालिकाले मेयर रोजगार कार्यक्रम सञ्चालन गरेको छ। चन्दननाथ नगरपालिकाभित्र रहेका १० जना युवालाई रोजगारी दिने उद्देश्यले मेयर रोजगार कार्यक्रम सञ्चालन गरिएको हो।
छ महिने मोटरसाइकल मर्मत तालिम दिएरपछि ग्यारेज स्थापना गर्न लगाउने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको मेयर कान्तिका सेजुवालले जानकारी दिइन्। सो कार्यक्रमको शुभारम्भ गर्दै उनले बेरोजगार युवालाई रोजगारी दिने प्रमुख उद्देश्य रहेको बताइन्।
तालिम लिएका १० जना युवालाई नगरपालिका जुम्लाले ग्यारेज स्थापना गर्न आवश्यक उपकरण खरीदमा ५० प्रतिशत अनुदान दिने उनले बताए। बढ्दो सवारी साधनलाई मध्यनजर गर्दै युवालाई मोटरसाइकल मर्मतको तालिम दिने उनको भनाइ छ। तालिम लिएका युवाले ग्यारेज स्थापना गरी रोजगारी पाउने छन्।
गत वर्षबाट कार्यक्रम सञ्चालन गर्ने तयारी गरे पनि विविध कारणले कार्यक्रम सञ्चालन हुन नसकेको भन्दै उनले यस वर्षदेखि निरन्तररुपमा लागू भएको जानकारी गराइन्। चन्दननाथ नगरपालिका जुम्लाका निमित्त प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम देवकोटले मेयर रोजगार कार्यक्रमका लागि नगरपालिकाले १० लाख रुपैयाँ रकम विनियोजन गरेको बताए।
नगरपालिकाभित्र रहेका १० वटै वडाका एक/एक जना इच्छुक युवालाई तालिममा सहभागी गराइने छ। रासस