पोखरामा माघे संक्रान्तिका दिन सदियौं पुरानो एउटा मेला लाग्छ। त्यो मेला कहिले सुरू भयो भन्ने कसैलाई थाहा छैन। मेलामा मानिसहरू स्वत:स्फूर्त आउँछन्। आफ्ना उद्देश्य पूरा गरेर फर्कन्छन्।
पोखराको सांगीतिक ब्याण्ड देउरालीले यही मेलाका नाममा एउटा गीत गाएको थियो। जुन गीत अहिले पनि पोखरेलीहरू गुनगुनाउँछन्। ढुंगे साँघुको मेलामा...।
पोखरा– १७ महतगौंडामा परम्परागत रूपमा बर्सेनि हुने यो मेलामा गण्डकी प्रदेशका जिल्लाहरूबाट मात्र नभई काठमाडौं र बुटबलदेखि मानिसहरू सामान बेच्न आउँछन्। कोही किन्न आउँछन्। कोही सेती नदीमा स्नान गरेर हरिहर मन्दिरमा पूजा गर्छन्।
पोखरा उपत्यकामा गल्छी बनाएर लुकेको सेती नदी यही स्थानमा पुगेर बाहिर निस्कन्छ।
-1768487008.jpg)
-1768487008.jpg)
धार्मिक उद्देश्यले जाने भक्तजनहरू नदीमा स्नान गर्न लाग्छन्। व्यापार गर्न गएका व्यवसायीहरू आफ्ना सामग्री बेचबिखन गरिरहेका हुन्छन् त कोही खरिद गरिरहेका। धार्मिक उद्देश्यले गएका मानिसहरूले भजनकीर्तनका साथै नाचगान पनि गरिरहेको देख्न सकिन्छ।
यसपालिको ढुंगे साँघुको मेलामा तनहुँको आँबुखैरेनी गाउँपालिका– मार्कीचोककी राममाया भुजेलले करिब ५० वटा नाङ्लो बेच्न लगिन्।
गाउँबाट ३ जना साथीसहित गएकी उनले दिउँसोसम्म आधा नाङ्ला बेचिसकेकी थिइन्। घरमा आफैले बनाएको नाङ्लो चामल लगायत अन्न निफन्न प्रयोग गरिन्छ।
घरमा परम्परागत रूपमै नाङ्लो बुन्ने र बजार लगेर बेच्ने गरेको उनले बताइन्। ढुंगे साँघुको मेला आफू मात्र नभएर विगतकामा बुवाआमा पनि आउने गरेको उनको सम्झना छ।
‘पहिले पहिले बुबाआमा आउनुहुन्थ्यो, ४ वर्षदेखि म आउन थालेकी छु,’ उनले भनिन्, ‘नाङ्लो बुन्ने काम त हाम्रो घरमा सबैले गर्नुहुन्छ।’
सिन्धुपाल्चोक घर भई अहिले काठमाडौं बसेकी पेमा शेर्पा पहिलो पटक फलफूल बोकेर ढुंगे साँघुको मेला आइन्।
काठमाडौंमा पनि फलफूल व्यापार गर्ने बताएकी उनले मेलामा सुन्तला, अमला, बयर, स्ट्रबेरी, छुर्पी लगायत बिक्रीमा राखेकी थिइन्। विगतका वर्षहरूमा दाजुहरू आउने गरेको भन्दै उनले यसपालि सोचे जस्तो व्यापार नभएको बताइन्।
‘पहिला पहिला दाजुहरू आउनुहुन्थ्यो, राम्रो व्यापार हुन्छ भन्नुहुन्थ्यो,’ उनले भनिन्, ‘पहिलो पटक म आएँ, खासै राम्रो व्यापार भएन।’
काठमाडौंबाट झण्डै ६० हजारको फलफूल ल्याएकी पेमाले आधाभन्दा बढी फलफूल बिक्री भएको बताइन्।
बिक्रीमा राखेका सबै सामग्री बेचिसक्ने उद्देश्य राखे पनि पूरा नभएको उनको भनाइ छ।
पोखरा– १४ चाउँथेमा पूजा आइरन उद्योग चलाएका दीपक विकले मेलामा हँसिया, कुटो, कोदालो, बञ्चरो जस्ता घरायसी सामग्री बिक्रीमा राखेका छन्।
-1768487006.jpg)
-1768487006.jpg)
उद्योग खोल्नुअघि पनि उनले परम्परागत रूपमा हँसिया, कुटो, कोदालो जस्ता सामग्री मेलामा बेच्न ल्याउने गरेका थिए।
उद्योग खोलेर उनले ४ जनालाई रोजगारी दिएका छन्। सामग्रीको उत्पादन बढाएका छन्। तर सोचे जस्तो बिक्री नबढेको उनको पनि गुनासो छ।
‘रेडिमेड सामानले हाम्रो विजनेस खाइदियो,’ उनले भने, ‘मेलाभरी उहिले उहिले घरमै बनाएको सामान मात्र हुन्थ्यो, अहिले बाहिरबाट ल्याएका विदेशी सामान छन्।’
ढुंगे साँघुको मेला उहिले उहिले बजारको विकास हुनुभन्दा अघिदेखि सुरू भएको अनुमान गर्छिन् स्थानीय वडाध्यक्ष राधिका योगी शाही।
बजारको विकास हुनुअघि मानिसहरूले आफूले उत्पादन गरेका सामग्री, अन्न तथा फलफूल यो मेलामा ल्याएर बिक्री गर्थे। अनि आफूलाई चाहिएका वस्तु खरिद गरेर लैजान्थे।
मानिसले सामान साट्ने वा खरिद बिक्री गर्ने ठाउँका रूपमा यो मेलाको विकास गरेको अनुमान गरिएको वडाध्यक्ष शाहीले बताइन्।
आधुनिक बजारको विस्तारसँगै पुरानो परम्परा फेरिँदै गएको उनले अनुभव गरेकी छन्।
‘२० वर्ष अघिसम्म ढुंगे साँघुको मेलामा विदेशमा बनेका सामान खासै आउँथेन, सबै नेपाली हस्तकलाका सामग्री, फलफूल र अन्नपात आउँथे,’ उनले भनिन्, ‘अहिले त विदेशी सामान मात्र देखिन्छ, अलिअलि हस्तकलाका सामान देख्न पाइएको छ।’
वडाध्यक्ष शाहीका अनुसार यो मेलामा गोरखादेखि तनहुँ, लमजुङ, बागलुङ, स्याङ्जा, कास्की लगायतका जिल्लाबाट डोको, नाम्लो, डालो, नाङ्लो, हसिया, करौती, कुटो, कोदालो, बञ्चरो जस्ता समान राखिन्थे।
फलफूलमा सुन्तला र अरू अन्नपात पनि बिक्रीमा राखिन्थे। मेलामा आउने मानिसहरू कोही डोको किन्न आउँथे त कोही नाङ्लो। यसपालि डोको र डालो देख्न नपाएको उनले बताइन्।
डोको, डालो जस्ता बाँसको चोयाबाट निकै मेहनतका साथ कलात्मक तरिकाले बनाइने हस्तकलाका सामग्री आउन छाड्नुका कारण विदेशी प्लाष्टिकका सामग्रीको बोलवाला बढेको उनले अनुभव गरिन्।
मेलामा यसपालि पनि प्लाष्टिकका बाल्टिन लगायत भाँडाकुँडा, बजारमा बिक्री नभएका कपडा लगायत विदेशी सामग्री बढी देखिएको उनले बताइन्।
-1768487006.jpg)
-1768487007.jpg)
‘विस्तारै विस्तारै हाम्रा गाउँघरमा उत्पादन हुने वस्तुहरू आउन छाडे, यसपालि पनि डोको र डालो देखिएन,’ उनले भनिन्, ‘ढुंगे साँघुको मेलामा विदेशी सामानको बोलवाला देखियो।’
उनका अनुसार, उहिले उहिले तरूल, सकरखण्ड लगायतका उत्पादन पनि यही मेलामा बेच्न ल्याइन्थ्यो। अहिले यस्ता उत्पादन कम भएका छन्।
मेलामा बेच्न ल्याउने क्रम पनि घटेको छ। फलफूल पनि भारत लगायत विदेशबाट आयात गरेर मेलामा बिक्री गर्न ल्याउन थालेको देखिएको छ।
सेती नदी वारपार गर्न एउटा ठूलो ढुंगा तेर्सिएर प्राकृतिक रूपमा पुलको काम गरेको छ। यही भएर यसलाई ढुंगे साँघु भन्न थालिएको वडाध्यक्ष शाही बताउँछन्। अहिले उक्त ढुङ्गामाथि सडक बनाइएको छ।
हरिहर मन्दिरका लागि योगी नरहरीनाथले कोटिहोम आयोजना गरी २३ रोपनी जग्गा किनेर राखेको पनि उनले बताइन्। धार्मिक महत्व बोकेको यो ठाउँमा भगवान राम र सीता आएको र सीताको पाइला परेको हुनाले यस ठाउँको नाम सीतापाइला पनि भन्ने गरिएको वडाध्यक्ष शाही बताउँछिन्।
सिद्ध गुफा, हरिहर मन्दिर लगायत धार्मिक क्षेत्र भएकाले धार्मिक पर्यटकको पनि उत्तिकै चासो यस क्षेत्रमा रहने गरेको उनले बताइन्।
परम्परागत रूपमा आफूले उत्पादन गरेका वस्तु तथा खाद्य पदार्थ खरिदबिक्री, साटासाट र तीर्थाटन गर्न लागेको मेला अहिले पनि स्वत:स्फूर्त जारी छ। यो मेला कसैले आयोजना गर्नुपर्दैन, मानिसहरू आफै आउँछन्।
अहिले स्थानीयबासीले मेलाको व्यवस्थापनका साथसाथै अन्य कार्यक्रम पनि आयोना गर्न थालेका छन्।
-1768487005.jpg)
-1768487005.jpg)
-1768487005.jpg)
-1768487004.jpg)
-1768487004.jpg)