३३ किलो सुन तस्करी प्रकरण र सनम शाक्य हत्यामा संलग्न थप एक जना आरोपी पक्राउ परेका छन्।
मकवानपुरको हेटौंडा उपमहानगरपालिका-१६ घर भएका ३५ वर्षीय सुरेन्द्र गौतम बुधबार पक्राउ परेका हुन्।
उनलाई काठमाडौंबाट पक्राउ गरेको काठमाडौं उपत्यका प्रहरी कार्यालयका एआइजी इश्वर कार्कीले जानकारी दिए।
उनी सुन तस्कर चूडामणि उप्रेती 'गोरे' समूहका सदस्य पनि हुन्।
सुन तस्करी र हत्यामा गौतमको संलग्नता देखिएको प्रहरी अनुसन्धानमा देखिएको एआइजी कार्कीले बताए।
गौतमविरूद्ध २०७५ वैशाख १९ मा मोरङ जिल्ला अदालतमा संगठित अपराध, सनम शाक्यलाई अपहरण गरेर शरीर बन्धक बनाएको कसुर र कर्तव्य ज्यान कसुरमा सजाय माग गरेको थियो।
३३ किलो सुन र सनम हत्या प्रकरणमा ६३ जना प्रतिवादी कायम गरिएको थियो।
२०७४ माघ ९ गते दुबईबाट ल्याइएको ३३ किलो सुन गायब बनाउन गौतमको संलग्नता देखिएको प्रहरी अनुसन्धानबाट खुलेको थियो।