नेपाली सेनाको भर्ना छनोट प्रकृयामा १३ नक्कली परीक्षार्थी र आर्थिक फाइदा लिई उनीहरुलाई सघाउने ४ सैनिकसहित २७ जना पक्राउ परेका छन्।
पक्राउ पर्नेमा विभिन्न भर्ना केन्द्रहरुमार्फत अरुलाई नै परीक्षा दिन लगाउने ६ वास्तविक उम्मेदवार तथा आर्थिक लेनदेनमा संलग्न अन्य ४ गैरसैनिक व्यक्तिहरु पनि छन्।
पक्राउ परेका उनीहरुलाई अनुसन्धान गरी कारबाही प्रकृया अगाडि बढाएको सेनाले जनाएको छ।
गत साउन १९ गतेको गोरखापत्रमा प्रकाशित विज्ञापन अनुसार नेपाली सेनाको ४० भर्ना केन्द्रहरुमा ५ हजार ८०० जना सैन्य पदका लागि भर्ना छनोट प्रक्रिया भइरहेको छ। छनौट प्रक्रियाका क्रममा केही भर्ना केन्द्रहरुमा किर्ते तथा आर्थिक लेनदेनमा संलग्न भएको पाइएपछि सेनाले अनुसन्धान गरी कारवाही प्रक्रिया अगाडि बढाएको हो।
नेपाली सेनाको भर्ना केन्द्र, श्री उत्तर पश्चिम पृतना हेडक्वाटरमा सञ्चालन भइरहेको सैन्य भर्ना प्रक्रियामा नक्कली परिचय पत्र बनाइ किर्ते गरेको आशङ्कामा ३ सैनिक र श्री नं. ५ बाहिनी अड्डा, कैलाली भर्ना केन्द्रमा आर्थिक लेनदेन गरेको आशङ्कामा एक जना सैनिक निगरानीमा राखी अनुसन्धान सुरु गरिएको निर्देशानलयद्वारा बुधबार जारी विज्ञप्तिमा उल्लेख छ।
साथै सोही भर्ना केन्द्रमा नक्कली परीक्षार्थी पठाइ परीक्षा दिन लगाउने वास्तविक उम्मेदवार ६ जना तथा नक्कली परीक्षार्थी ९ जनालाई जिल्ला प्रहरी कार्यालय सुर्खेतले पक्राउ गरी अनुसन्धान सुरु गरेको छ। संलग्न अन्य व्यक्तिहरुको खोजी कार्य भइरहेको छ।
यसैगरी, सैन्य भर्ना केन्द्र श्री नम्बर २४ बाहिनी अड्डा जुम्ला तथा श्री बाहिनी अड्डा कैलालीमा चार जना नक्कली परीक्षार्थीहरुलाई पक्राउ गरी अनुसन्धान सुरु गरिएको छ। वास्तविक उम्मेदवारको खोजी भइरहेको तथा अन्य तीन भर्ना केन्द्रमा आर्थिक लेनदेनमा संलग्न चार गैर सैनिकलाई पक्राउ गरी अनुसन्धान सुरु गरिएको जनाइएको छ।
भर्ना छनोट प्रक्रियालाई बढी प्रभावकारी र व्यवस्थित बनाउन गत वर्षदेखि सबै भर्ना केन्द्रमा भेरिफिकेसन डेस्क राखी बायोमेट्रिक उपकरणमार्फत खराबी नियन्त्रण गर्ने गरिएको छ। यसले भर्ना छनोट प्रक्रियामा हुने अनियमितता कमी हुनाका साथै त्यस्ता कारवाहीले सङ्गठन शुद्धीकरण अभियानमा समेत टेवा पुग्ने नेपाली सेनाको विश्वास छ।