‘फरार’ रहेका बिएण्डसी मेडिकल कलेज झापाका सञ्चालक दुर्गा प्रसाईंलाई पक्राउ गर्नुपर्ने जवाफ पेश गर्न सर्वोच्च अदालतले भक्तपुर प्रशासनलाई आदेश दिएको छ।
माघ १० गते प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको इजलासले प्रसाईंलाई पक्राउ गर्नुको जवाफ पन्ध्र दिनभित्र पेश गर्न जिल्ला प्रशासन कार्यालय भक्तपुरलाई कारण देखाउ आदेश दिएको हो।
चिकित्सा शिक्षा आयोग उपाध्यक्ष डा. श्रीकृष्ण गिरीले अभद्र व्यवहार गरेको आरोप लगाउँदै माघ १ गते प्रसाईंविरूद्ध महानगरीय प्रहरी परिसर भक्तपुरमा जाहेरी दिएका थिए। जाहेरीपछि प्रशासनले प्रसाईंविरूद्ध पक्राउ पूर्जी जारी गरेको थियो।
उक्त पक्राउ पूर्जीमाथि उत्प्रेषण परमादेश माग गर्दै प्रसाईंले वारेसमार्फत सर्वोच्च अदालतमा निवेदन दिएका थिए।
‘सर्वोच्चले पक्राउ गर्नुपर्ने लिखित कारण पेश गर्न पन्ध्र दिनको समय दिएको छ,’ भक्तपुरकी प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेलले सेतोपाटीसँग भनिन्, ‘हामी जवाफ पठाउने तयारी गरिरहेका छौं।’
अदालतले आदेश दिए पनि प्रसाईंलाई नपक्रिन भनेको छैन। यसबीचमा उनलाई प्रहरीले पक्राउ पनि गर्न सक्छ। पूर्जी जारी भएपछि प्रसाईं सम्पर्कमा छैनन्।
आशयपत्र पाइसकेको आफ्नो मेडिकल कलेजलाई सम्बन्धन दिने प्रक्रिया थाल्न निवेदन लिएर जाँदा आयोग उपाध्यक्ष गिरीले होटल द्वारिकाजमा बोलाएर २० करोड रूपैयाँ मागेको आरोप प्रसाईंले लगाएका थिए। आफूलाई बदनाम गराएको भन्दै गिरीले प्रसाईंविरूद्ध गाली बेइज्जतीको मुद्दा काठमाडौं जिल्ला अदालतमा पनि हालेका थिए।