डोटीका अधिकांश ग्रामीण भेकमा रहेका नागरिकले विद्युतको न्यूनतम महशुल मूल्य १०० रुपैयाँ बुझाउन एक हजार ५०० खर्च गर्नु परिरहेको छ।
जिल्ला सदरमुकाम सिलगढी तथा पुरानो क्षेत्रीय सदरमुकाम दिपायलबाट टाढा बसोबास गर्नेले वर्षौंदेखि यस्तो समस्या झैल्दै आएका छन्।
जिल्लाका बाझकाकाँनी, कालिकास्थान, खातिवडा, दहकालिका स्थान, रानागाउँ, मौवा, सलेना, फलेडी, कुलाउ, जमलकटिया, वाइल, वासुदेवी, झिगाबस्ती, मुडभारा, मरकट्टे, कपल्लेकीलगायतका गाउँबाट नेपाल विद्युत् प्राधिकरण मुख्य शाखा कार्यालय दिपायल पिपल्लामा आउनुपर्छ।
महशुल तिर्न आउँदा करिब एक हजार ५०० रुपैयाँ खर्च हुने गरेको बाझकाकाँनीका नरेश खड्काले बताए।
'हामी त अलि नजिक छौँ, दहकालिका, तोलेनीलगायतका गाउँका नागरिकले त ३०० रुपैयाँ सम्म गाडी भाडा तिरेर महशुल बुझाउन आउनुपर्छ,' उनले भने 'त्यति मात्र होइन कहिलेकाहीँ विद्युत् कार्यालयको कम्प्युटर बिग्रियो वा पालो पुगेन भने दुई दिनसम्म दिपायलमै बास बस्नुपर्छ, हामीलाई निकै समस्या भएको छ।'
त्यस्तै सायल गाउँपालिकाका स्थानीय ललितबहादुर सिंहले गाउँमा टिभी, फ्रिज हुँदैन, पानी तान्ने मोटर नभएको बताए। 'खाली बत्ती मात्र बाल्ने गर्दा महशुल रकम आउँछ, कसैको त १०० रुपैयाँ सम्म पनि पुग्दैन,' उनले गुनासो गरे, '१०० रुपैयाँ तिर्न एक हजार बढी खर्च गर्नुपर्ने हुन्छ।'
गरिब नागरिकले कहाँबाट त्यति रकम तिर्न सक्छ, विद्युत् महशुल गाउँमा लिने व्यवस्था हुनु पर्ने सायल गाउँपालिकाका तेज डुम्रेलले बताए। गाउँमा बैंकिङ सेवा मार्फत महशुल बुझाउन ध्यानदिने केआइसिंह गाउँपालिका वडा नम्बर ५ का स्थानीय शेरेन्द्रविक्रम शाहीले आग्रह गरे।
'गाउँपालिकामा विभिन्न बैंकका शाखा खुलेका छन्, अब विद्युत् महशुल पनि त्यहीबाट बुझाउने व्यवस्था मिलाए नागरिकलाई सहज हुने थियो,' उनले भने।
नेपाल विद्युत् प्राधिकरण दिपायलका प्रमुख कपिलदेव जोशीले डोटीका ग्रामीण भेकमा तत्कालै विद्युत् महशुल बुझाउने काउन्टर खोल्न समस्या हुने बताए। 'गाउँघर टाढा पनि छन् र हामीसँग कर्मचारीको पनि अभाव रहेकाले तत्काल विद्युत् महशुल बुझाउने काउण्टर खोल्न समस्या भएको हो,' उनले भने।
पिपल्लामा रहेको विद्युत् काउण्टरमा दैनिक सेवा ग्राहीको भीड लाग्ने गरेको छ।