काठमाडौं महानगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियार सहित ७ जनाले भ्रष्टाचार मुद्दामा सफाइ पाएका छन्।
विशेष अदालतका न्यायाधीश नारायणप्रसाद पौडेल, हेमन्त रावल र उमेश कोइरालाको इजलासले मंगलबार उनीहरूलाई सफाइ दिएको हो।
ढल निर्माणको ठेक्कामा अनियमितता गरेको आरोपमा परियार सहित सात जनाविरूद्ध अख्तियार दुरूपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको थियो।
सामाखुसी कोरिडोरअन्तर्गत बसुन्धरादेखि म्हेँपीसम्मको ढल निर्माण कार्यको ठेक्कामा तत्कालीन प्रमुख प्रशासकीय अधिकृत परियार सहितको मिलेमतोमा भ्रष्टाचार भएको अख्तियारको ठहर छ।
नेपाल सरकारको सहसचिव परियार भ्रष्टाचार मुद्दा दर्ता हुँदा सूचना तथा प्रसारण विभागको महानिर्देशकको जिम्मेवारीमा थिए।
महानगरका निर्देशकहरू रवीनमान श्रेष्ठ, शिवराज अधिकारी, वसन्त आचार्य, नमराज ढकाल, सहायक निर्देशक उत्तम दाहाल र इञ्जिनियर जर्नादन गिरी विरूद्ध अख्तियारले मुद्दा दर्ता गरेको थियो।
'उनीहरूलाई आरोपदावी पुष्टी हुन नसकेको हुँदा निज प्रतिवादीहरूलेे आरोप दावीबाट सफाइ पाउने ठहर्छ,' अदालतले भनेको छ।