उदयपुरको बेलका नगरपालिकामा प्रहरी र प्रदर्शनकारीबीच झडप भएको छ। नगरपालिकामा भएको भ्रष्टाचार छानबिन हुनुपर्ने माग गर्दै भएको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको हो।
प्रदर्शनमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस, समाजवादी पार्टी र राप्रपाका कार्यकर्ता सहभागी थिए। झडपमा परी १० जना प्रदर्शनकारी र केही प्रहरी जवान घाइते भएका छन्।
नेपाली कांग्रेसका नगर सभापति सुशील सेढाईले भ्रष्टचारको छानविन गर्न माग गर्दै गरिएको विरोध प्रदर्शनमा प्रहरी दमन भएको बताए। उनले उपमेयरले उठाएको भ्रष्टाचारको विषयमाथि छानबिन हुनुपर्ने माग गरे।
'उपमेयरले नै भ्रष्टाचारको कुरा उठाउनुभएको छ। पछि उहाँलाई फकाएर केही नभएकाेजस्ताे गरी माफी माग्न लगाएर चोखाउन खोजियो,' उनले भने।
यसअघि उपमेयर राजकुमारी चौधरीले नगरपालिकामा भ्रष्टाचार भएको र त्यसबारे आफूले पटकपटक कुरा उठाउँदा पनि सम्बोधन नभएको भन्दै राजीनामा दिने घोषणा गरेकी थिइन्।
पछि पार्टीको नगर सचिवालय बैठकमा उनले राजीनामा फिर्ता लिने जनाइन्।