सिन्धुपाल्चोकको पाँचपोखरी थाङपालधाप गाउँपालिका-२ मा आइतबार राति आएको पहिरोमा परी २ जनाको मृत्यु भएको छ।
राति २ बजेतिर आएको पहिरोले यज्ञबहादुर क्षेत्रीको घर पुर्दा उनी र उनकी श्रीमती लक्ष्मी सिलवालको मृत्यु भएको गाउँपालिका अध्यक्ष टासी लामाले बताए।
‘उहाँहरूका छोरा काठमाडौंमा, एउटा छोरी विदेशमा हुनुहुन्छ,’ लामाले भने,‘गाउँमै भएकी छोरी हिजो राति हजुरआमासँग गएकाले बच्नुभएछ।’
गाउँपालिकाका अन्य वडाहरूमा पनि पहिरो गएको लामाले बताए। पहिरोले धेरैका बस्तुभाउ बगाएको छ।
आइतबार रातिदेखि परेको पानी सोमबार बिहानबाट रोकिएको छ।
सोही गाउँपालिकासँग सीमा जोडिएको मेलम्ची नगरपालिकाको मेलम्ची बजारमा पनि आइतबार राति पहिरो खसेको थियो। पहिरोमा बेपत्ता भएका मध्ये सात जनाको शव फेला परेको छ भने एक जनाको खोजी भइरहेको छ।