चितवनको बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा कार्यरत ४ जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएको छ।
केही दिन अघिमात्रै यस अस्पतालको मेडिसिन वार्डमा कार्यरत स्टाफ नर्स र एक जना बिरामीमा कोरोना संक्रमण देखिएको थियो। उनीहरुमा कोरोना पोजेटिभ देखिएपछि गरिएको कन्ट्याक्ट ट्रेसिङका क्रममा ४ जना स्वास्थ्यकर्मीहरुमा पोजेटिभ देखिएको हो।
क्यान्सर अस्पतालबाटै स्वाब लिएका नजिकैको होटलका २ जना व्यक्तिमा पनि कोरोना पोजेटिभ देखिएको छ। स्वास्थ्यकर्मीहरु एक जना स्टाफ नर्स हुन् भने अन्य तीन जना एटेण्डर हुन्।
भरतपुरस्थित कोभिड १९ परीक्षण प्रयोगशालाकी प्रमुख डा.नितु अधिकारीकाअनुसार क्यान्सर अस्पतालबाट स्वाब पठाइएका ५ जना पुरुष र एक महिलामा कोरोना संक्रमण पुष्टि भएको छ।
नर्स र बिरामीमा कोरोना पोजेटिभ देखिएपछि क्यान्सर अस्पतालले करिब तीन दर्जन स्वास्थ्यकर्मीहरुको स्वाब संकलन गरी परीक्षणका लागि पठाएको थियो।
उनीहरु सबै क्वारेन्टिनमा बस्दै आएका छन्। अस्पतालको मेडिकल वार्ड सिल गरिएको छ। आज १०० वटा नमूना परीक्षण गर्दा ९४ जनाको रिपोर्ट भने नेगेटिभ आएको प्रयोगशालाले जनाएको छ।