बागमती प्रदेश अन्तर्गतका २८ वटा स्थानीय तहमा प्रहरी कर्मचारीहरुसँग सम्बन्धित गुनासो तथा सुझाव संकलनको लागि गुनासो तथा सुझाव संकलन पेटिका राखिएको छ ।
प्रहरी कार्यालयका साथै प्रहरी कर्मचारीहरुबाट सम्पादन भएका कामकारबाहीको सम्बन्धमा आम नागरिकबाट प्राप्तक हुने सल्लाह, सुझावका साथै गुनासोलाई उचित सम्बोधन गरी प्राप्तर सल्लाह सुझाव अनुरुप प्रहरी सेवालाई परिमार्जन गर्ने उद्देश्यले बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले स्थानीय तहसँगको सहकार्यमा गुनासो तथा सुझाव संकलन पेटिका राखिएको हो।
बागमती प्रदेश प्रहरी अन्तर्गतका १० वटा जिल्लाहरुमा रहेका महानगरपालीका (एक), उपमहानगरपालिका (एक), नगरपालिका(पच्चीस) र सदरमुकाममा रहेका गाउँपालिकामा(एक) गरी २८ वटा स्थानीय तहमा गुनासो तथा सुझाव संकलन पेटिका राखिएको हो ।
नागरिकबाट प्राप्ता हुने गुनासो तथा सुझावलाई तत्कालै सम्बोधन गरी प्रहरी सेवालाई प्रभावकारी एवम् जवाफदेही बनाउने उद्देश्यले बागमती प्रदेश प्रहरी कार्यालय, हेटौंडाले गुनासो तथा सुझाव पेटीका संचालन सम्बन्धी कार्ययोजना २०७७ तयार गरी चरणगतरुपमा प्रदेशभरीका सबै स्थानीय तहको कार्यालयमा सुझाव संकलन पेटिका राख्ने कार्यक्रम तय गरेकोछ ।
कार्ययोजना भएको व्यवस्था अनुसार प्रथम चरणमा सबै महानगरपालिका, उपमहानगरपालिका, नगरपालिका र सदरमुकाम रहेको गाउँपालिका गरी २८ वटा स्थानीय तहमा, दोस्रो चरणमा ७० वटा गाउँपालिका र तेस्रो चरणमा प्रदेश भरीका ८७४ वटा वडा कार्यालयहरुमा समेत गुनासो तथा सुझाव संकलन पेटिका राखिने कार्यक्रम तय गरिएको छ ।
नेपाल प्रहरीले संगठनको काम कारवाहीलाई ब्यवस्थित तथा जवाफदेही बनाउन नागरिकसँगको सहकार्यलाई अपरिहार्य रहेको मनन गरी कार्यक्षेत्रमा रहेको हरेक प्रहरी कार्यालयहरुमा गुनासो पेटिका राख्ने कार्य धेरै अघि देखि प्रारम्भ गरेको भएता पनि प्रहरीको बिरुद्ध प्रहरी कार्यालयमै गएर गुनासो ब्यक्त गर्नु सहज महसुस नगरेको कारण अपेक्षित गुनासोहरु संकलन हुन नसकेको विद्यमान अवस्था रहेकोछ ।
नागरिकहरुले पेटिका मार्फत प्रदान गर्ने गुनासो तथा सुझावलाई प्रदेश प्रहरी कार्यालयले हरेक महिनाको १ गते संकलन ( स्थानीय तहका प्रतिनिधि र स्थानीय प्रहरीको रोहवरमा) गरी त्यस्ता गुनासो तथा सुझावको सम्बोधनको लागि प्रदेश प्रहरी कार्यालयमा उजुरी छानबिन शाखा समेत स्थापना गरेको छ ।
उजुरी पेटिकामा नागरिकहरुले प्रहरी कार्यालय र प्रहरी कर्मचारीको कामकारबाहीका सम्बन्धमा आफ्नो गुनासो, सुझावका साथै अन्य क्षेत्रमा आवश्यक पहलका लागि प्रहरी सँग राखिएको अपेक्षाहरु समेत राख्न सक्ने छन ।
अन्य क्षेत्रसँग सम्बन्धित रहेका गुनासो तथा सुझावहरुलाई आवश्यक सम्बोधनका लागि सम्बन्धित निकायमा पठाईने डिआइजी बसन्त लामाले बताए।