इन्द्रबहादुर गुरूङले औपचारिक शिक्षा १ कक्षा पनि पढेनन्। खेतबारीमा काम गर्दागर्दै गुरू प्रजापतिले उनलाई शिक्षा दिए। गुरूङ संस्कार र संस्कृति सिकाए। नेपाली वर्णमाला चिनाए।
प्रजापतिकै दिक्षा पाएर इन्द्रबहादुरले गुरूङ समुदायमा पुरोहितको काम गर्न थाले। समुदायले पनि उनलाई पैंडी अर्थात पुरोहितको मान्यता दिए।
पञ्चायतकालमा गाउँगाउँमा पञ्चहरूको दबदबा थियो। इन्द्रबहादुर पञ्चायत पसे। २ पटक जिल्ला पञ्चायत सदस्य निर्वाचित भए। तत्कालीन पञ्च सरकारले चलाएको ‘गाउँ फर्क अभियान’ को लमजुङ जिल्ला अध्यक्ष बने।
२०४६ सालको जनआन्दोलनले पञ्चायती व्यवस्था फाल्यो। लोकतन्त्र पुनर्स्थापना भयो। इन्द्रबहादुर राजनीतिबाट विमुख भए। त्यसपछि अध्ययन अनुसन्धानमा लाग्न थाले। २०४९ सालदेखि उनले गुरूङ भाषा र संस्कृतिमा आधारित भएर पुस्तक प्रकाशन गर्न थाले।
लमजुङको कोलासोंथर गाउँपालिका–९ गिलुङ गाउँमा सन् १९९१ भदौ ३१ गते जन्मिएका इन्द्रबहादुरलाई अध्ययन अनुसन्धानमा लाग्न भूगोलविद् डा. हर्क गुरूङले प्रेरणा दिएका थिए। काठमाडौंमा डा. हर्क र इन्द्रबहादुरको घर नजिकै थियो। उनीहरूबीच भेटघाट भइरहन्थ्यो। डाक्टर हर्कले मन्त्री भएका बेला इन्द्रबहादुरलाई भनेछन्, ‘यो २ वर्ष मन्त्री नभएको भए म २ वटा किताब लेख्थेँ हुँला। ज्ञानगुनको कुरा त हुन्थ्यो। मन्त्री भएर केही भएन।’
डा. हर्कले मन्त्री हुन भन्दा किताब लेख्न ठिक ठानेपछि इन्द्रबहादुरलाई पनि अध्ययन अनुसन्धानमा लाग्न प्रेरणा मिल्यो।
गुरूङ समुदायका भाषा, संस्कृति र संस्कार एवं मान्यताहरू खोजबिन गरेर उनले प्रकाशमा ल्याएका छन्।
गाउँ-गाउँका गीतदेखि शास्त्र, संस्कृति, गुरूङ भाषाका उखान, टुक्का, विभिन्न भनाइहरू र गुरूङ भाषाका शब्दहरू उनले संकलन गरेका छन्। गुरूङ भाषा, संस्कृति र संस्कारबारे अनुसन्धान गर्न नेपालका प्राय: सबैजसो गाउँ पुगेका छन्।
औपचारिक शिक्षा नलिएका इन्द्रबहादुरले गुरूङ भाषा, संस्कृति, संस्कार र साहित्यसँग सम्बन्धित एक दर्जन पुस्तक लेखिसकेका छन्। उनका तमु चिं, बुद्ध तथा बोन्पो क्यालेण्डर, तौं ता सोफु, गुरूङ नेपाली शब्द कोष, तमुको अवस्थलको परिचय, तमु व्यवस्थाको मूल आधार नाल सभा प्रकाश, तमु सांस्कृतिक दिग्दर्शन, पर्यावरण गीत संगालो सेर्गा क्वै, पितृ नै देवता हुन् लगायत एक दर्जन पुस्तक प्रकाशित छन्।
लमजुङको कोलासोंथर गाउँपालिका वडा नम्बर ९ गिलुङ गाउँमा १९९१ साल भदौ ३१ गते जन्मिएका इन्द्रबहादुरसँग बाल्यकालमा खेतबारीमा काम गर्दा गुरूङ समुदायको पैंडी (पुरोहित) प्रजापति लामिछाने गुरूङसँग भेट हुन थाल्यो।
पैंडी प्रजापति लमजुङकै गुरूङ गाउँ सिङ्दीबाट बसाइँ सरेर करापु गाउँ पुगेका थिए। इन्द्रबहादुरको गिलुङ र प्रजापतिको करापु गाउँका बासिन्दा खेतबारीमा काम गर्दा आपसमा अर्मपर्म गर्थे।
खेतबारीमा काम गर्दागर्दै प्रजापतिले इन्द्र बहादुरलाई गुरूङ समुदायका संस्कार, संस्कृति, भाषा, पुरोहित कर्म लगायत सिकाए। प्रजापतिले नै पहिलो पटक खेतबारीमा काम गर्दागर्दा नै इन्द्रबहादुरलाई अक्षर चिनाएका थिए।
प्रजापतिसँग कटुस पकाएर बनाएको मसीबाट निगालाको कलमले लेखिएको पुरोहित पुस्तक थियो। जुन पुस्तक हेरेर प्रजापति गुरूङको वर्ग (बर्ष) गन्थे। जुन हरेक वर्ष ल्होसार पर्व (पुस १५) मा परिवर्तन हुन्छ। पुस्तकमा गुरूङका जन्मदेखि मृत्यु संस्कार गर्दा गर्नुपर्ने पाठहरू लेखिएका थिए।
विक्रम संवत् २००८ सालमा करापु गाउँमा गएको पहिरोमा पैंडी प्रजापति परे। पहिरोमा पुरिएर उनको मृत्यु भयो। प्रजापतिको मृत्युपश्चात उक्त पुस्तक इन्द्रबहादुरसँग छ। उनले पनि सोही पुस्तक पढेर पैंडी काम गर्थे। पुस्तकमा तिब्बती र भारतीय ज्योतिषशास्त्र पनि राखिएको छ।
-1766843476.jpeg)
पञ्चायतकालीन राजनीतिमा रहँदा इन्द्र बहादुरले लमजुङको करापुटारदेखि गिलुङ हुँदै साल्मेभञ्ज्याङ जोड्ने सडकको रेखाङ्कन गरेका थिए। आफ्नो गाउँसहित लमजुङका ठूला गुरूङ गाउँहरू उक्त सडकले छुन्छ। लमजुङको दुराडाँडास्थित सर्वोदय मावि, भोर्लेटारको इशानेश्वर मावि, गिलुङको बुद्धोदय मावि लगायत स्कुलका अध्यक्ष बने। चिनियाँ तिब्बती ज्योतिष प्रतिष्ठानका संस्थापक अध्यक्ष बने। गिलुङ गाउँमै जन्मिएका एमाले नेता पृथ्वीसुब्बा गुरूङ संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री भएका बेला इन्द्रबहादुरलाई नेपाल प्रज्ञा प्रतिष्ठानको प्राज्ञ सदस्य नियुक्त गरे। उनी २०६६ देखि ७० सम्म नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञसभा सदस्य बने।
राजनीति छाडेर गुरूङ भाषा, संस्कार, संस्कृति र साहित्यमा लागेका इन्द्रबहादुर शुभ राज्यभिषेक पदक, नेपाल प्रज्ञा प्रतिष्ठानबाट प्रज्ञा मातृभाषा साहित्य पुरस्कार पाएका छन्। यसका अलवा उनले दर्जनौं संस्थाबाट पुरस्कार, सम्मान र अभिनन्दित भइसकेका छन्। गुरूङ संस्कृति जगेर्नामा योगदान दिएको भन्दै धेरैले उनको सम्झना गरेका छन्।
पैंडी इन्द्र बहादुरलाई गुरूङ संस्कृतिको खोज अनुसन्धानमा लाग्न उनका परिवारले पनि उत्तिकै साथ दिएका थिए। उनका श्रीमती काशीपिरी गुरूङ, छोराहरू सुरेन्द्र र वीरेन्द्र, छोरीहरू हेममाया र चन्द्रकुमारी छन्।
गुरूङ भाषा र संस्कृति हराउन लागेको भन्दै पछिल्लो समय इन्द्रबहादुर गुरूङ निकै चिन्तित थिए। अहिले बालबालिकाले गुरूङ भाषा नजान्ने र संस्कृति पनि थाहा नपाउने अवस्था देखिएको भन्दै उनले स्कुलबाटै मातृभाषाको पढाइ हुनुपर्ने मत राख्दै आएका थिए।
जीवनको युवाकालमा लामो समय राजनीतिमा बिताएका इन्द्रबहादुरले ५० को दशकबाट भने अध्ययन, अनुसन्धान र लेखनमा तल्लीन भए। उनको ९१ वर्षको उमेरमा बिहीबार मणिपाल शिक्षण अस्पतालमा निधन भयो।
उनको निधनले गुरूङ भाषा र संस्कृतिमा गहिरो अध्ययन भएको एक जना साधक गुमाउन पुगेको गुरूङ फिल्मकर्मी भोजबहादुर गुरूङले बताए।
इन्द्रबहादुरले लेखेको गीत आफूले रेकर्ड गराएको स्मरण गर्दै उनले गुरूङ फिल्म बनाउँदा जानकारी लिने गरको पनि उनले बताए।
‘हामीले फिल्म बनाउँदा गुरूङ संस्कृतिका कतिपय कुरा उहाँ (इन्द्रबहादुर) सँग सोधेर जानकारी लिन्थ्यौं,’ उनले भने, ‘उहाँको निधनले गुरूङ संस्कृतिका साधक गुमाएका छौं।’