अमेजनका संस्थापक जेफ बेजोस हालसालै दुई खर्ब डलरभन्दा बढी सम्पत्तिको मालिक हुने संसारकै पहिलो व्यक्ति भएका छन्।
अमेजनमा उनको ११ प्रतिशत सेयर छ। कोरोना महामारी सुरू भएयता अमेजनको सेयर मूल्य ८५ प्रतिशत बढेपछि उनी मानव इतिहासकै पहिलो दुई खर्बपति भएका हुन्।
बेजोसको यो सफलतालाई सबैतिरबाट प्रशंसा भने गरिँदैन। बरू महामारीमा करोडौंले कहर काटिरहेका बेलामा बेजोस झनझन् धनी भएको भन्दै आलोचना भइरहेको छ।
दुई साताअघि मात्रै केही प्रदर्शनकारीहरू हातमा गिलटिन लिएर बेजोसको घरअगाडि धर्ना बसेका थिए। बेजोसले आफ्नो धन बाँड्नु पर्ने र कामदारलाई प्रतिघन्टा न्युनतम ३० डलर ज्याला दिनुपर्ने माग उनीहरूले गरेका थिए।
तर उनीहरूका माग पूरा गर्ने हो भने अमेरिकी अर्थतन्त्र चल्ने छैन। गिलटिनको डर देखाएर बेजोसलाई धन बाँड्न लगाए पनि अथवा सिनेटर बर्नी सेन्डर्स र एलिजावेथ वारेनले भन्ने गरेको जस्तो उच्चदरमा सम्पत्ति कर ठोके पनि अर्थतन्त्रले ठूलो क्षति बेहोर्ने छ।
अमेजनले गर्ने प्रत्येक कारोबारबाट बेजोस र अरू सेयरधनीहरूले आ–आफ्नो भागको अत्यन्तै सानो अंश पाउँछन्। प्रत्येक उपभोक्ताको खरिदारीबाट बेजोसले पाउने हिस्सा यति थोरै हुन्छ कि कसैले पनि मैले कति गुमाएँ र उसले कति कमायो भन्ने वास्तै गर्दैन।
तर मान्छेले यस्ता ससाना कुरा याद गर्दैनन् र उनीहरूलाई छक्काएर मैले कमाउँछु भन्ने हिसाबले कोही पनि अत्यन्तै धनी हुने बाटोमा हिँड्दैनन्। बेजोसले पनि त्यसो गरेका होइनन्। उनले त अनलाइन कारोबारको अथाह संसारमा आफूलाई कसरी विस्तार गर्न सकिएला भन्ने ध्याउन्नमा लाग्दा अहिलेको स्थानमा आइपुगेका हुन्।
अमेरिकामा मात्रै ११ करोड २० लाखभन्दा बढी अमेजनका 'प्राइम कस्ट्युमर' छन्। कोरोना महामारी सुरू भएयता उसको कारोबार ४२ प्रतिशत बढेको छ। र, यति नै बेला 'प्रगतिशील' हरूले बेजोसजस्ता धनाढ्यको सम्पत्ति बाँड्नुपर्छ भन्ने नारा लगाइरहेका छन्।
तर उद्यमीलाई उच्चदरमा कर लगाउन थालियो भने त्यसले नयाँ व्यवसाय थाल्ने वा भइरहेको व्यवसायलाई विस्तार गर्ने उत्साहलाई मार्छ। उच्चदरको कर हुँदो हो त अमेजन अस्तित्वमै आउने थिएन होला वा अहिलेको आकारमा फैलिने थिएन होला।
अब एकछिन विचार गरौं अमेजनले बेजोसलाई के दियो र हामीहरूले के पायौं?
बेजोसले पाएको र हामीले पाएकोमध्ये कुन बढी मूल्यवान हो?
मानौं, बेजोसको सम्पत्ति राष्ट्रियकरण गरियो र त्यसलाई ३३ करोड अमेरिकीबीच बराबर भाग लगाइयो। अमेरिकामा अमेजनको कारोबारको ६० प्रतिशत हिस्सा भएकाले त्यति नै सम्पत्ति अमेरिकीमाझ बाँडियो भने प्रत्येकको भागमा ३६० डलर पर्न आउँछ। यसमा संघीय र राज्य सरकारको कर कटाउँदा हात लाग्ने पैसालाई ७ प्रतिशत प्रतिफल आउने गरी लगानी गर्ने हो भने वार्षिक १९.२० डलर आम्दानी हुन्छ।
अब भन्नुस्, अमेजनले उपभोक्ताका लागि सिर्जना गरेको मूल्यको तुलनामा यो १९ डलरले कुनै अर्थ राख्छ?
माथि भनिएको ११ करोड २० लाख 'प्राइम कस्ट्युमर' प्रत्येकले वार्षिक सदस्यता नवीकरणका लागि मात्रै हरेक साल ११९ डलर तिर्छन्। ती ग्राहकले सदस्यता शुल्कबापत तिर्ने १३ अर्ब ३० करोड डलर ठूलो रकम हो। ती ग्राहकले खरिदारीका लागि सवारी साधनमा गर्ने खर्च र समयको तुलनामा भने त्यो कुनै ठूलो रकम होइन।
कोरोना महामारीका बेला घरैमा थुनिएर बसेका मान्छेले गर्ने अनलाइन कारोबारले दिएको सुविधाका बारेमा सोचौं। अनलाइन अर्डर गरेपछि दुई दिनभित्र जस्तोसुकै सामान आफ्नो दैलोमा आइपुग्ने सुविधाका बारेमा सोचौं। ती ग्रामीण ग्राहक जसले आफ्ना छिमेकका किराना पसलमा नपाइने एक करोड २० लाखथरीका सामानका बारेमा सोचौं। ती वृद्ध र अपांग ग्राहकका बारेमा सोचौं जसलाई सामान्य खरिदारी पनि कति कष्टकर हुन्छ। अमेजनकै साइटमा गएर विभिन्न वस्तुका मूल्य तुलना गर्न सकिने सुविधाका बारेमा सोचौं।
यी सबै सुविधालाई छाडेर हामी त्यो वार्षिक १९.२० डलरलाई रोजौंला? अमेजनले जेफ बेजोसलाई ब्रह्माण्डकै धनी बनाएको छ। तर अमेजनले हामी सबलाई त्योभन्दा बढी दिएको छ। बेजोसजस्ता कल्पनाशील उद्यमी थोरै हुन्छन्। हाम्रो अर्थतन्त्र फैलन यस्ता धेरै उद्यमीको खाँचो पर्छ।
उद्यमशीलता विकास गर्न मान्छेलाई जोखिम उठाउन र नयाँ आविष्कार गर्न प्रोत्साहित गर्नुपर्छ। नयाँ किसिमका उद्यमले समाजको रुपान्तरणमा सहायता पुर्याउँछ। अर्को जेफ बेजोसबिना हामीले स्वच्छ ऊर्जा, अर्को आइफोन, क्यान्सर, डिमेन्सिया वा मुटु रोगको सहज उपचार पहिल्याउन सक्दैनौं होला?
अद्वितीय उद्यमीहरू समाजलाई धनी बनाएर मात्र आफू धनी बन्न सक्छन्। तिनीहरूलाई कर लगाउने भनेको हामी आफैंलाई अझ उच्च दरमा कर लगाउने हो।
(द हिल डट कमका लागि जिसस फर्नान्डेज भिलभर्ड र लि ई. ओहानियनले लेखेको लेखको भावानुवाद। भिलभर्ड युनिभर्सिटी अफ पेन्सिल्भेनिया र ओहानियन युनिभर्सिटी अफ क्यालिफोर्निया लस एन्जलसमा अर्थशास्त्रका प्राध्यापक हुन्।)