मध्यपश्चिमाञ्चल विश्वविद्यालयको रजिष्ट्रारमा सहप्राध्यापक डा नारायणप्रसाद पौडेल नियुक्त भएका छन्।
विश्वविद्यालयले खुला प्रतिस्पर्धाबाट रजिष्ट्रार छनोट गरी नियुक्ति दिन गत असार २२ गते दरखास्त आह्वान गरेको थियो।
दरखास्त आह्वानबमोजिम १९ जनाको आवेदन परेको थियो।
काठमाडौँ विश्वविद्यालयका पूर्वउपकुलपति प्रा डा सुरेशराज शर्मा नेतृत्वको तीन सदस्यीय छनोट समितिले आवेदकहरुको आवश्यक मापदण्डका आधारमा डा पौडेललाई छनोट गरेको थियो।
१९ जनाबीचको प्रतिस्पर्धामा समितिले छनोट गरेका सह प्रा डा पौडेललाई रजिष्ट्रार नियुक्तिका लागि विश्वविद्यालयका कुलपति तथा प्रधानमन्त्रीसमक्ष सिफारिस गरिएको र प्रधानमन्त्रीले नियुक्ति स्वीकृत गरेको उपकुलपति प्रा डा नन्दबहादुर सिंहले जानकारी दिए।
‘यसरी खुला प्रतिस्पर्धाबाट रजिष्ट्रार नियुक्ति गर्ने काम नेपालका विश्वविद्यालयहरुको इतिहासमा पहिलो घटना हो। जुन काम मध्यपश्चिमाञ्चल विश्वविद्यालयले सम्पन्न गरेको छ‘ उनले भने।
उपकुलपति प्रा डा सिंहले यसअघि राजनीतिक शक्तिका आधारमा विश्वविद्यालयमा रजिष्ट्रार नियुक्ति गरिने प्रणाली पूर्णरूपले तोडिएको जिकिर गरे।
यसैगरी विश्वविद्यालयले मानविकी तथा समाजशास्त्र सङ्काय, व्यवस्थापन सङ्काय, विज्ञान तथा प्रविधि सङ्काय र शिक्षाशास्त्र सङ्काय गरी रिक्त चारवटा डिन पदको खुला प्रतिस्पर्धामा भाग लिन दरखास्त आह्वान गरेको छ।
आवश्यक मापदण्ड पूरा गरी खुला प्रतिस्पर्धाबाट सफल हुने उम्मेदवारलाई डिनमा नियुक्त गरिने विश्वविद्यालयले जनाएको छ।