प्रसिद्ध धार्मिक स्थल गोरखाको मनकामना मन्दिर खोल्न स्थानीय बासिन्दाले माग गरेका छन्।
कोरोनाभाइरस महामारीले गत चैतमा गरिएको लकडाउनदेखि नै मनकामना मन्दिरमा भक्तजनका लागि पूजापाठ गर्न दिइएको छैन।
नियमित पूजाआजा भने पूजारीले सञ्चालन गरिरहेका छन्।
लकडाउन सुरू भएदेखि नै मनकामना केवलकार पनि बन्द छ।
स्थानीय बासिन्दाले सामाजिक दूरी कायम हुने गरी स्वास्थ्य सुरक्षाका सबै मापदण्ड कडाइका साथ लागू गरी मन्दिर खोल्नुपर्ने बताउँदै आएका छन्।
केही दिनअघि उद्योग वाणिज्य संघ मनकामना बजार इकाइले भेला गरी तत्काल मन्दिर र केवलकार सञ्चालन गर्न माग गरेका थिए।
मन्दिर र केवलकार बन्द हुँदा मनकामनादेखि कुरिनटार क्षेत्रको व्यापार व्यवसायमा प्रभावित पारेको उनीहरूको भनाइ छ।
इकाइ अध्यक्ष हरि श्रेष्ठका अनुसार मन्दिर नखुल्दा व्यापार व्यवसायमा प्रभाव परेको छ।
उनीहरूले सहिदलखन गाउँपालिका वडा नम्बर १ र २ लाई पत्राचार गर्दै मन्दिर र केवलकार खुला गर्न पहल थाल्न आग्रह गरिसकेका छन्।
यस्तै आइतबार सहिदलखन गाउँपालिका नेविसंघ इकाइ समितिले पनि मनकामना मन्दिर भक्तजनका लागि खुला गर्न माग गर्दै प्रमुख जिल्ला अधिकारी तीर्थराज भट्टराईलाई ज्ञापन पत्र बुझाएका छन्।
मन्दिर र केवलकार बन्द हुँदा स्थानीय बासिन्दाको रोजिरोटी गुमेको तथा व्यापार व्यवसायमा प्रभाव परेको नेविसंघ इकाइ समिति सभापति अविन श्रेष्ठ बताउँछन्।
मनकामना मन्दिरमा दिनमा सात हजारसम्म भक्तजन जाने गरेका थिए।
सरकारले धेरै भिडभाड हुने मन्दिरलगायत ठाउँ खुला गरेको छैन।
कोरोना भाइरस महामारी कायमै रहेको भन्दै सरकारले मन्दिर, अवस्था हेरेर विद्यालयहरू र चलचित्र हल खुला गरेको छैन।