अवैध रुपमा नेपालीलाई छिराएर क्यासिनो खेलाएको आरोपमा म्यानेजरसहित १० जनालाई प्रहरीले पक्राउ गरेको छ।
महानगरीय प्रहरी वृत्त कालिमाटीले काठमाडौं-१३ ताहाचलस्थित प्लाटिनम होटलको सिएमजी क्यासिनोबाट बिहीबार अपराह्न १० जनालाई पक्राउ गरेको हो।
पक्राउ पर्नेमा क्यासिनो म्यानेजर काठमाडौं-२२ का महेश मल्ल, सहायक म्यानेजर सर्लाही इश्वरपुर नगरपालिका-९ का कमलदेव चौधरी, एडमिन स्टाफ सर्लाही बरथनवा-४ का अजय यादव र सोही नगरपालिका-११ का क्यासियर सचिन वाग्ले छन्।
वृत्तका प्रमुख प्रहरी नायब उपरीक्षक अपिल बोहराका अनुसार खेल्नेहरू पनि समातिएका छन्।
पक्राउ पर्नेमा भारत मोतिहारीका रञ्जितकुमार जैसवाल, सोहन प्रसाद, भारत बिहार बेतियाका मुमताज मियाँ, भारत कलकत्ता मेडनापुरका शेख मुर्तुजा, धनषा जनकपुर-१३ का राजकुमार सिंह र बारा बारागढी-६ का टिन्कु प्रसाद रहेका छन्।
उनीहरूको साथबाट २२ लाख ९६ हजार ९८० रूपैयाँ बरामद भएको बोहराले बताए।

कोरोना महामारीका कारण अहिले क्यासिनो बन्द गरिएको छ। बन्दको पर्वाह नगरीकन खेलाइरहेको विशेष सूचनाका आधारमा प्रहरी क्यासिनो पुगेको थियो।
क्यासिनोमा नेपाली छिराउन प्रतिबन्ध छ। पक्राउ परेकालाई थुनामा राखी अनुसन्धान थालिएको प्रहरीले जनाएको छ।