स्विट्जरल्यान्डको क्रान्स–मोन्टाना पर्यटकीय क्षेत्रमा आयोजित नयाँ वर्षको पार्टीमा भीषण आगलागी भएको छ।
बिबिसीका अनुसार बिहीबार एक स्थानीय बारमा नयाँ वर्षको पार्टी भइरहेका बेला लागेको आगोले 'दर्जनौं मानिसको मृत्यु भएको' स्वीस अधिकारीहरूले बताएका छन्।
आगलागीमा १०० जना भन्दा धेरै घाइते भएका छन्, जसमा धेरैजसोको अवस्था गम्भीर बताइएको छ।
अधिकारीहरूका अनुसार पीडितहरू विभिन्न देशका नागरिक छन्। मृतकहरूको पहिचान गर्ने काम जारी छ।
घाइतेमध्ये धेरैलाई गम्भीर रूपमा घाउ लागेको भन्दै चिकित्सकहरूले चिन्ता व्यक्त गरेका छन्।
आगो नियन्त्रण र उद्धारका लागि १० हेलिकप्टर, ४० एम्बुलेन्स र करिब १५० जनाको उद्धार टोली परिचालन गरिएको थियो। उद्धार तथा आपतकालीन सहयोग कार्यहरू आउँदो केही दिनसम्म जारी रहने जनाइएको छ।
भ्याले अस्पतालको आइसियू कक्ष घाइतेहरूले भरिएपछि केही बिरामीलाई विशेषज्ञ उपचारका लागि अन्य अस्पतालतर्फ सारिएको अधिकारीहरूले बताएका छन्।
अधिकारीहरूले स्थानीय नागरिक तथा पर्यटकलाई बढी सतर्कता अपनाउन र अस्पतालमा अनावश्यक भीड नगर्न आग्रह गरेका छन्।
आगलागीको कारणबारे अझै खुलाइएको छैन।
हालसम्मको प्रारम्भिक अनुसन्धानका आधारमा यो कुनै हमला नभएको क्षेत्रीय अभियोजन कार्यालयले जनाएको छ।