ठगी तथा आपराधिक विश्वासघात मुद्दामा अर्जुनबहादुर शाही फेरि पक्राउ परेका छन्।
जेनजी आन्दोलनपछि अख्तियार दुरूपयोग अनुसन्धान आयोगका आयुक्तदेखि उच्चपदस्थ व्यक्तिहरूलाई धम्की दिएपछि चर्चामा आएका शाही फेरि पक्राउ परेका हुन्।
जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवनकुमार भट्टराईका अनुसार २६ वर्षीय शाहीलाई प्रहरीले ठगी तथा आपराधिक विश्वासघात र बैंकिङ कसुर मुद्दामा पक्राउ गरेको हो।
यसअघि उनलाई प्रहरीले असोज २९ गते पक्राउ गरेको थियो। बैंकिङ कसुरको मुद्दामा उनले तिर्नुपर्ने रकम पीडित पक्षलाई बुझाएपछि उनी हिरासत मुक्त भएका थिए।
जेनजी युवाहरूको एक समूहले केही समयअघि अख्तियारको टंगाल कार्यालय गएर प्रमुख अयुक्त प्रेम राई र नागरिक उड्डयन प्राधिकरण गएर त्यहाँका महानिर्देशक प्रदीप अधिकारीको राजीनामा मागेको थियो।
तिनैमध्येका शाही वैदेशिक रोजगार ठगीसम्बन्धी मुद्दामा मुछिएर पटकपटक पक्राउ परेका थिए।
अछामको पञ्चदेव विनायक नगरपालिका–४ घर भई हाल काठमाडौं बस्ने २६ वर्षीय शाहीले आफूलाई 'जेनजी रिभोलुसन नेपाल' का उपाध्यक्षका रूपमा चिनाएका थिए।