न्यू योर्कका नवनिर्वाचित मेयर जोहरन ममदानीले कार्यभार सम्हालेका छन्।
नयाँ वर्ष लागेपछि बिहीबार बिहान टाइम्स स्क्वायरमा ममदानीले औपचारिक रूपमा न्यु योर्क शहरको मेयरको रूपमा शपथ लिएका छन्। सिटी हल नजिकै जमिन मुनि रहेको एउटा प्रयोगमा नरहेको कलात्मक सबवे स्टेशनमा आयोजित समारोहमा उनले शपथ लिएका छन्।
मध्यरात हुनु चार मिनेट अघि ३४ वर्षीय ममदानी, उनकी पत्नी रमा दुवाजी र न्यू योर्क राज्यकी महान्यायाधिवक्ता लेटिटिया जेम्स ६ नम्बरको रेलबाट ओर्लिएर शपथ ग्रहणका लागि सबवे स्टेशनमा प्रवेश गरेको भनेर द न्यू योर्क टाइम्सले लेखेको छ।
गत नोभेम्बरमा ममदानी विश्वको आर्थिक राजधानी मानिने न्यूयोर्कको पहिलो मुस्लिम र दक्षिण एसियाली मूलका मेयर बनेका थिए। उनी चर्चित भारतीय-अमेरिकी फिल्म निर्देशक मीरा नायर र प्रख्यात विद्वान महमुद ममदानीका छोरा हुन्।
ममदानीले स्वतन्त्र उम्मेदवारका रूपमा लडेका न्यूयोर्क राज्यका पूर्वगभर्नर एन्ड्रयू कोमोलाई झन्डै १० प्रतिशत मतान्तरले हराएका थिए।
ट्रम्पले समाजवादी विचारधाराका ममदानीलाई 'वामपन्थी' भनेर गाली गर्छन्। उनले चुनावअघि ममदानीलाई मत नदिन अपिल गरेका थिए।
न्यूयोर्कमै जन्मे-हुर्केका र त्यहीँ व्यवसाय गरेका ट्रम्पले रिपब्लिकन उम्मेदवार कर्टिस सिल्वालाई भोट हाले ममदानीलाई फाइदा पुग्ने भन्दै आफ्नो दलका मतदातासँग कोमोलाई भोट हाल्न आग्रह गरेका थिए। ममदानीले जिते न्यूयोर्क सहरलाई दिइने लगभग सबै संघीय अनुदान काट्ने धम्की पनि दिएका थिए।
यति हुँदाहुँदै ममदानीले कोमोलाई फराकिलो मतान्तरले हराएका थिए। डेमोक्रेटिक पार्टीको प्राइमरीमा ममदानीसँग हारेपछि उनी स्वतन्त्र उम्मेदवारका रूपमा लडेका थिए।
(विभिन्न अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूको सहयोगमा तयार पारिएको)